४ बैशाख २०८१, मंगलवार
पर्यटकका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज १ गतेबाट खुल्ने

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०७८, बिहीबार १६:४४

कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएका छन् । सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेबाट पर्यटकलाई दुबै निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार साहले स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटकका लागि निकुञ्ज खुला गरिएको बताउनुभयो । उहाँले बाँकेमा पर्यटकको चाप नहुने हुँदा सूचना नै निकालेर बन्द र खुला नगरिए पनि अहिले कोभिडको जोखिम घट्दै गएकोले पर्यटक आउन थालेको बताउनुभयो । यसैगरि बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले चार महिनापछि असोज १ गतेदेखि निकुञ्ज खोल्ने र पर्यटकलाई जङ्गल ड्राइभ (सफारी), -याफ्टिङ र जङ्गल वाक् गर्न मात्र अनुमति दिइएको बताउनुभयो ।
पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नु पर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रमुख संरक्षण अधिकृत श्रेष्ठले निकुञ्ज खोल्ने पूर्वतयारी स्वरूप करिब ३ सय मिटर सडक मर्मत र सफाइ गरिएको पनि जनाउनुभयो । चार महिनापछि पर्यटकका लागि निकुञ्ज खुल्न थालेपछि पर्यटन व्यवसायीले खुसी व्यक्त गरेका छन् । होटल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले निकुञ्ज खुल्ने भएपछि अब फेरी ठुलो संख्यामा पर्यटक भित्रिने आशा पलाएको जनाउँदै व्यवसाय सुरु हुने बताउनुभयो । उहाँले लामो समय बन्द रहेका होटलहरु अब खुल्ने र फेरी ठाकुरद्वारा क्षेत्रमा चहलपहल बढ्ने हुँदा सबै खुसी भएको बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज आसपास २६ वटा साना–ठुला होटल सञ्चालनमा रहेका छन् । यहाँका अधिकांश होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा सहजै बाघ हेर्न पाइने हुँदा स्वदेशी र विदेशी पर्यटक ठुलो संख्यामा पुग्ने गरेका छन् । -गोरखापत्रअनलाईनबाट

Nabintech