नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ :४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा.अधिकारीले बताए । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः ४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।