७ बैशाख २०८१, शुक्रबार
दशैंमा नेपाल फर्किनेकाे सीमामा भीड, नाकामा ठगिने क्रम राेकिएन

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७८, शुक्रबार १६:३५

भारतका विभिन्न शहरहरुमा मजदुरी गरेर दशैं लगायतका चाडपर्व मनाउन स्वदेश फर्किरहेका नेपालीको सङ्ख्या बढेसँगै सीमानाका क्षेत्रमा ठगिन र लुटिन थालेको गुनासो गरेका छन् । दशैं मनाउन भारतबाट घर फर्किरहेका नेपालीलाई सीमापारी भारतको रुपैडिहा बसपार्कदेखि नै रिक्साचालक, भारतीय र नेपाली सुरक्षाकर्मी तथा होटल र गाडीका दलालले ठग्ने र लुट्ने काम गरिरहेको उहाँहरुको गुनासो छ । सिमला, हरिद्वार, दिल्ली, पन्जाबका सहरहरु, अहमदाबाद तथा जयपुरलगायतबाट पैसा कमाएर दशैंका लागि घर फर्किने नेपालीलाई ठग्ने र लुट्ने काम भैरहे पनि भारतीय र नेपाली दुबै देशका सुरक्षाकर्मीले चासो नदिएको पीडितहरुको भनाई छ । भारतस्थित हिमाञ्चल प्रदशेको सिमलाबाट काम गरेर फर्किएका बसेला सुर्खेतका राजेश विक र उहाँसंगै रहेका १० जनालाई सीमापारी रुपैडिहाका रिक्साचालकले ठगेको विकले बताउनुभयो । विकको टोली रुपैडिहा बसपार्कमा ओर्लने वित्तिकै रिक्साचालकले नेपालगञ्ज पुगाइदिने भनी प्रतिव्यक्ति ५ सय रुपियाँ लिएर एसएसबीको बैरियरमा उतारेर भागेको विकले बताउनुभयो । यस्तै एसएसबीको बैरियर पार गरेर जाँदा उता रहेका रिक्साचालकले पनि नेपालगञ्ज पुगाइदिने भनी जनही ३ सय रुपियाँ असुलेर ५० मिटर पर नाकामा छोडेर गएको दैलेखका दिनेश थापाले बताउनुभयो । उहाँले जेनतेन गरेर आफ्नो देशमा छिरेपछि त्यहाँ पनि प्रहरीदेखि रिक्साचालकहरुले ठग्ने र लुट्ने गरेको उहाँले गुनासो गर्नुभयो । ‘भारतबाट नेपाल छिर्न पाएको छैन, हात समातेरै कसैले अटोरिक्सामा बसाउँछन्, कोही आएर मेरो होटलमा जाउँभन्दै तँछाडमछाड गर्छन्,’ भारतबाट फर्केका सल्यान थारमारेका रमेश नेपालीले भन्नुभयो ‘आफ्नै देशमा यस्तो ठगिने अवस्था देख्दा साह्रै नरमाइलो लाग्यो ।’
जमुनाहा नाकामा प्रहरीले समेत खुलारुपमा रकम असुली गरिरहेको फर्किनेहरुको गुनासो छ । ठग्नेहरुलाई छुट दिएको गुनासो आएपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेले सिभिल पोशाकमा छड्के अनुगमन गर्दा प्रहरीले नै रकम असुली गरिरहेको पाइएपछि त्यहाँका १७ जना प्रहरीलाई जिल्ला तानेर कारवाही गरिएको एसपी अधिकारीले बताउनुभयो । ठगीमा र रकम असुलीमा संलग्न केही बिचौलियालाई पक्राउ गरेर निगरानी बढाइएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताउनुभयो । नाकामा भारतबाट फर्किने नेपालीको चाप बढेसँगै सीमाक्षेत्रमै पुग्ने होटल ब्यवसायी, अटोरिक्सा र बिचौलियाले ठगी र लुटपाट गरिरहेको उहाँले बताउनुभयो । -गोरखापत्रअनलाईनबाट

Nabintech