७ बैशाख २०८१, शुक्रबार
संसारभर आपूर्ति शृङ्खला धर्मरायो, गाडीदेखि खेलौनासम्म अभाव

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७८, आईतवार ०७:०९

यतिखेर विश्वभर आपूर्ति शृङ्खला (सप्लाइ चेन) ले पहिले झैँ काम गरिरहेको छैन । बालबालिकाले खेलाउने खेलौनादेखि गाडीको अर्थचालक (सेमिकन्डक्टर) सम्म अभाव भइरहेको छ । माग र आपूर्तिबीच निकै ठूलो अन्तर देखिएको छ ।  मालसामान ढुवानी गर्ने अमेरिकी पानीजहाजहरू कयौँ दिनसम्म समुद्रमै रोकिइरहेका छन् । किनकि ढुवानी गर्ने पर्याप्त सामग्री नै तयार छैन । अत्यधिक माग भए पनि बन्दरगाहहरूले पानीजहाजमा लाद्ने सामान उत्पादकबाटै पाइरहेका छैनन् ।  अमेरिकीहरूमा अरूभन्दा धेरै सामान खरिद गर्न सक्ने क्षमता भए पनि सबै पानी जहाजलाई स्थान उपलब्ध गराउन नसकिएको लस एन्जलस बन्दरगाहका कार्यकारी निर्देशक जेन सेरोकाले बताएका छन् । वाल स्ट्रीट जर्नलको एक प्रतिवेदनअनुसार विश्वविख्यात ब्राण्ड नाइकीसँग यतिखेर मागअनुसार जुत्ता उत्पादन नै गर्न सकिरहेको छैन । कास्टो कर्पोरेशनले पेपर टावलको बिक्री सङ्कुचित तुल्याएको छ । कृत्रिम क्रिसमस ट्रीको मूल्य २५ प्रतिशतसम्म बढेको छ ।

कारण
महाशक्ति राष्ट्र अमेरिकामै सामान अभाव हुनुका पछाडि विभिन्न कारण छन् । ती मध्ये एक हो–कोरोना महामारी । कोभिड महामारीका कारण मानिसहरूले खर्च गर्ने ठाउँ सीमित भएको थियो ।

जस्तो कि ः खानपानका लागि रेस्टूराँ संस्कृतिमै निर्भर देशका अधिकांश नागरिकले घरमै खाना बनाएर खान थालेका थिए । रेस्टूराँमा खर्च गर्न नसक्दा रकम बचेको थियो । यो बचतलाई मानिसहरूले अन्य सामान खरिदमा खर्च गर्न चाहिरहेका छन् । माग त बढेको छ, तर सामान पाइरहेका छैनन् ।  महामारीबीच उद्योगहरूमा मजदुरले काम गर्न सकेनन् । कयौँ उद्योगहरू बन्द भए । एक स्थान या देशबाट अन्यत्र सामान लैजाने पानीजहाजहरू प्रतिबन्धका कारण बन्दरगाहमै लामो समयसम्म रोकिए ।  अन्तरराष्ट्रिय समुद्री संगठनका अनुसार विश्वभर ९० प्रतिशत सामान समुद्रीमार्गबाटै ढुवानी हुन्छ । तर, यस वर्ष समुद्री मार्गमा कैयन समस्याहरू निम्तियो । स्वेज नहरमा पानीजहाज फस्दा लामो समयसम्म ढुवानी हुन सकेन । धेरै पानीजहाजहरूलाई सोही नहरमा रोक्नुप¥यो । एसियाबाट यूरोप पुग्ने छोटो समुद्रीमार्गमा यो नहर पर्छ । यो नहरमा एउटामात्रै जहाज फस्दा पनि विश्वको आपूर्ति प्रणालीमा निकै ठूलो असर देखियो । खेलकुदका सामग्री बनाउने एक कम्पनी पजल गेमिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केविन उको भन्छन्, ‘हामीले यसअघि चीनबाट आउने ४० फीट लामो कन्टेनरको भाडा २७०० पाउन्डभन्दा धेरै तिरेका थिएनौँ । तर अहिले १५ हजार पाउण्ड भाडा तिरेका छौँ । भाडा निकै बढेको छ र काम गर्न समस्या भइरहेको छ ।’

मजदुर अभाव र राजनीति

बेलायत र अमेरिकालगायत कयौँ देशमा मजदुर अभाव भइरहेको छ । फोब्र्स म्यागेजिनले ८ जुलाईमै अमेरिकी कम्पनीहरूले मजदुर अभाव खेपिरहेको लेखेको थियो । बन्दगाहहरूमा पानीजहाजले ठाउँ नपाउनुको एक कारण पनि कर्मचारी अभाव नै थियो । किनकि, कर्मचारी नहुँदा बन्दरगाह प्रशासनले ठाउँ व्यवस्थापन गर्न नै सकेन ।  पर्याप्त सामान नपाउनुको अर्को कारण राजनीति हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमाथि निर्भरता कम गर्ने गरी अमेरिकी आपूर्ति प्रणाली बलियो बनाउन खोजिरहेका छन् । धेरै देशहरूले कोरोना महामारी नियन्त्रणार्थ पीपीई कीट र अत्यावश्यक सामानको अभाव खेपिरहेका बेला बाइडेनले अमेरिकाअनुकूलको यो नीति अघि सारेका थिए ।  बाइडेनले गत फेब्रुअरीमै भनेका थिए, ‘राष्ट्रिय विपत्तीको यो समयमा हामी आफ्ना नागरिकको रक्षा र आवश्यकता परिपूर्ति गर्न कुनै दोस्रो देशमा निर्भर भइरहन सक्दैनौँ ।’ बाइडेनले अमेरिकी नागरिकको चिन्ता त गरिरहेका छन्, तर वैश्विक आपूर्ति शृङ्खलामा उनले लिएको नीतिकै कारण निकै अप्ठ्यारो स्थिति निम्तिएको छ ।

जटिल आपूर्ति शृङ्खला

वैश्विक आपूर्ति शृङ्खला निकै जटिल छ । विश्वव्यापीकरणसँगै उत्पादनमा पनि एक नयाँ अवधारणा आयो, जसलाई ‘जस्ट इन टाइम’ अर्थात् आवश्यकता परेकै बेला सामान आपूर्ति गर्नुपर्ने भनी बुझिन्छ । यो अवधारणअनुसार कम्पनीले सामान हस्तान्तरण त्यो समयमा गर्नुपर्छ–जतिबेला आवश्यक पर्छ । यो गर्दा सामान माग गर्नेको रकम पनि बचत हुन्छ । यो निकै राम्रो प्रणाली हो । तर तबसम्म मात्र–जबसम्म सामान वितरण समयमै हुन्छ । यसको उदाहरण गाडी उद्योग हो । यस्ता उद्योगहरूलाई गाडीमा राख्ने सेमिकन्डक्टर चिप्स आवश्यक पर्छ । गाडी र कयौँ विद्युतीय सामग्री बनाउन यस्तो चीप अत्यावश्यक हुन्छ । तर, ल्यापटप र अन्य विद्युतीय सामग्रीको बिक्री बढेका कारण यो चीपको माग पनि निकै वृद्धि भइरहेको छ । बजारमा अहिले चीप पर्याप्त उपलब्ध छैन । चीप अभावकै कारण टोयोटाले गाडी उत्पादनमा ४० प्रतिशत कटौती गरिसकेको छ । गाडी बनाउने बेलायती कम्पनी वाक्सहलका प्रबन्ध निर्देशक पल विलकक्स भन्छन्, ‘यसको असर पूरै उद्योगमा परेको छ, उत्पादन क्षमता नै घटाउनुपरेको छ ।’

गाडी खोजिरहेका मानिसका लागि सेमिकन्डक्टर चीप परको कुरा जस्तो लाग्न सक्छ । तर, आपूर्ति शृङ्खलामा यसले सीधा असर गरिरहेको छ ।  कोरोना महामारी, अमेरिकी व्यापार नीति र मजदुर तथा उपकरण अभावले विश्वभर नै यतिखेर मानिसहरूले चाहेर पनि सामान खरिद गर्न पाएका छैनन् । विश्वव्यापीकरणसँगै सस्तो सामान उपलब्ध त उपलब्ध भयो, तर निश्चित समस्या निम्तिनासाथ आपूर्ति शृङ्खला अस्तव्यस्त बन्ने क्रम रोकिएको छैन । संसारमा कति सामान बनेको छ र हामीले कति उपयोग गरिरहेका छौँ ? ती सामान कहाँ र कसरी बनाइरहेका छौँ भन्ने सवाल यतिखेर गम्भीर बनेको छ । किनकि, आयातमा अधिक निर्भर देशहरू अहिले निकै समस्यामा फसेका छन् ।

बीबीसी हिन्दीबाट अनुवाद÷सम्पादन गरी प्रकाशित

Nabintech