७ बैशाख २०८१, शुक्रबार
बाँकेको ढकेरी क्षेत्रमा पाटेबाघ देखियो, आवागमनमा सतर्कता

  • टाइम्स संवाददाता

  • ३० आश्विन २०७८, शनिबार १६:१७

केही दिन पहिलेसम्म बाँकेको गाभर क्षेत्रमा देखिएका पाटेबाघ अहिले आएर ढकेरीमा देखिएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुर–ढकेरी खण्डमा पाटेबाघ देखिएपछि सवारी आवगमनमा उच्च सतर्कता अपनाईएको छ । सो राजमार्ग नजिक पर्ने गाउँ वस्तीमा समेत बाघ छिर्ने खतरा बढेकोले जानकारी गराएर सतर्क र सुरक्षित रहन सर्वसाधारणलाई बाँके निकुञ्जले आग्रह गरेको जनाएको छ ।
कोहलपुर–ढकेरी सडक खण्डको झिझिरी खोला नजिकै पाटेबाघ देखिएपछि सवारी साधन लगायत पैदल र साइकलमा यात्रा गर्नेको आवतजावतमा नेपाली सेनाले कडाई गरेको छ । सो सडक खण्डमा नेपाली सेनाले समूहमा मात्र बाईकहरुलाई आवतजावत गर्न दिइरहेको छ । दसैंलाई मध्यनजर गरेर यो सडक खण्डमा सवारी साधनको आवतजावत धेरै भैरहेकोले समूहमा मात्र यात्रा गर्न दिइएको छ ।
भदौंको अन्तिममा कुसुम क्षेत्रमा पाटेबाघको समूह नै देखिएपछि राजमार्गमा आवतजावत गर्दा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले कडाई गरिरहेको थियो ।
पछिल्लो समय पाटेबाघ देखिरहेकोले राजमार्ग यात्रा गर्नेहरु तथा निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्न मानिसहरुलाई सर्तकता अपनाउन बाँके निकुञ्जले आग्रह गरिरहेको निकुञ्जका प्रमुख श्याम कुमार शाहले बताउनुभयो । उहाँले निकुञ्ज क्षेत्रमा घर पालुवा जनावर चराउन नलैजान समेत आग्रह गरिएको बताउनुभयो । जिल्लाको गाभरमा एक जना भारतीय नागरिकलाई राजमार्गबाटै बाघले तानेर जंगलमा लगेर खाएपछि सो क्षेत्रमा बाघको समुहनै देखिएको थियो । बाघको उक्त समुह पुर्वपश्चिम राजमार्गको अन्य ठाउँमा पनि पटक पटक देखिएपछि स्थानीय तथा आवागमन गर्नेमा डर त्रास बढेको थियो । -गोरखापत्रबाट

Nabintech