१३ बैशाख २०८१, बिहीबार
बाँकेको ‘कर्णाली’ भनेर चिनिने नरैनापुर बघौडा यसरी बन्यो ‘सुगम’

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७८, आईतवार १८:२१

केही वर्ष पहिलेसम्म बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर बघौडा क्षेत्रको परिचय अहिले फेरिएको छ । सडक तथा विद्युतको अभावमा जिल्लाको ‘कालापानी’ र ‘कर्णाली’ को नामले चिनिने नरैनापुर बघौडा क्षेत्र अब सुगम क्षेत्रको रुपमा चिनिन थालेको छ । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको सो क्षेत्रमा सडक र विद्युत पुगेपछि हाल आएर परिचयनै फेरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । जिल्ला सदरमुकामबाट ४४ किलोमिटर मात्र टाढा भए पनि त्यहाँ पुग्न दिनभरी लाग्ने तथा विद्युत विना अँध्यारोमा बस्नु र्ने बाध्यता अब नरहेको उहाँले बताउनुभयो । अध्यक्ष शाहले नेपालगञ्ज–बघौडा ४४ किलोमिटर हुलाकी सडकको निर्माण र कोहलपुर–धामपुर–सुईया बघौडा विद्युतिकरणको काम पुरा भएपछि सो क्षेत्रका गाउँहरुको मुहार उज्यालिएको बताउनुभयो । केहीसमय पहिलेसम्म सुईया बघौडाको नाम सुन्ने वित्तिकै नाक मुख खुम्च्याउनेहरु अहिले यहाँको सडक र अन्य विकास हेर्न आउने गरेको सो गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाका स्थानीय तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले कालोपत्रे सडक तयार भएसंगै अहिले सो क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल निर्वाध रुपमा चल्न थालेको बताउनुभयो । सडक निर्माणसंगै यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँहरुको सम्बन्ध सिधा नेपालगञ्ज सहरसँग जोडिएको छ ।
‘विगतका दिनहरु सम्झँदा अहिले सपना जस्तै लाग्छ, यति छिटै कालोपत्रे सडकमा नेपालगञ्जबाट बघौडा पुग्ने र बत्ती बालेर बस्ने कल्पना समेत गरेका थिएनौं’–जिल्ला समन्वय समितिका प्रमुख श्रीवास्तवले भन्नुभयो । सडक पुगेपछि स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । बघौडामा उत्पादित बस्तुहरु सिधै सदरमुकाम पुग्न थालेका छन् । बघौडामा शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि सो क्षेत्रका जनताको दिनचर्या पनि फेरिएको छ । स्वास्थ्य, शिक्षा, खानेपानी यातायातलगायत विकासका पूर्वाधारले बघौडा नेपालगञ्जसंग जोडिँदै गएकोले स्थानीयलाई धेरै राहात भएको मटेहियाका विक्रम यादवले बताउनुभयो । मोटरबाटोले सो क्षेत्रको मुहारनै फेरिदिएको स्थानीयवासी दिनेश मौर्यले बताउनुभयो । घरघरमै सवारी साधनले सामान ल्याउँदा गाउँमा चहलपहल बढेको उहाँको भनाइ छ । सडक सञ्जालले गाउँदेखि शहर जोडिएपछि व्यापार व्यवसाय गर्नेसमेत बढिरहेको छ । बघौडाको परिचय त्यसै नफेरिएको दाबी गर्दै सो फेर्नका लागि आफुहरुले दिनरात अथक प्रयास गरेको सो क्षेत्रबाट अहिले युवा तथा खेलकुद मन्त्री बन्नु भएका महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना र गाउँपालिकाका अध्यक्ष शाहको दाबी छ । -गोरखापत्रअनलाईनबाट

Nabintech