१२ श्रावण २०८१, शनिबार
बेमौसमी विपत्तिले ८८ को मृत्यु

  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०७८, बिहीबार ०७:१४

मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६/६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १/१ जनाको ज्यान गएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए । मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम–४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घर/परिवार विस्थापित भए पनि टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको बताए । इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चित कटुवालको मृत्यु भएको हो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल बच्न सफल भएका छन् । ‘पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका दुई जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने । धनकुटाको चौबीसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ७ जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ११ वर्षीय सञ्जाल श्रेष्ठ, ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नाति ९ वर्षीय विनोद, ५ वर्षीया नातिनी निर्जला र झापा दमक– ११ घर भएका पाहुना ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ छन् ।

नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिडको सेक्सनमा पानी जमेपछि मंगलबार रातिदेखि प्रदेश १ विद्युत्विहीन छ । पानी निकाल्ने काम भइरहेको र क्षतिको अध्ययन गरेर मात्र मर्मतपछि विद्युत् आउने प्राधिकरणको प्रदेश १ कार्यालयले जनाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० धर्मपुर गाउँनजिक रहेको घोरही नालाले बुधबार दिउँसो दुई महिलालाई बगाएकामा एक जनाको शव फेला परेको छ । नाला छेउछाउ तरकारी टिपेर घर ढढिहवा गाउँ फर्कने क्रममा उनीहरूलाई बगाएको हो । ३२ वर्षीया सीता थारूको शव सय मिटर तल रूखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । १४ वर्षीया सिर्जना थारू भने बेपत्ता छिन् । पहिरोले घर भत्किँदा हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मंगलबार राति स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ६५ वर्षीय शाही, उनकी छोरी ४० वर्षीया आशा, ज्वाइँ ५५ वर्षीय कलबहादुर शाही, नातिहरू १३ वर्षका अलिन्द, ५ वर्षीय हुमेस र ३ वर्षका जसबहादुर शाहीको मृत्यु भएको हो । एकान्तमा घर भएकाले छिमेकीले समेत बुधबार बिहान पहिरो गएको थाहा पाएका थिए । पहिरोका कारण बस्ती नै जोखिममा परेपछि स्थानीयलाई मंगलबार राति नै माडुस्थित सुरक्षित स्थानमा पठाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । कर्णाली नदीमा आएको बाढी घरमा पसेर कैलालीको टीकापुर नगरपालिका–८ कर्मीडाँडाका ९४ वर्षीय करवीर ढोलीको बुधबार बिहान मृत्यु भएको छ । वडाध्यक्ष दीर्घ ठकुल्लाका अनुसार घरमा भएको सामान र मान्छे सुरक्षित ठाउँमा सार्दासार्दै बाढीमा डुबेर उनको मृत्यु भएको हो । बझाङको थलारा गाउँपालिका–४ को डिक्म्ला गाउँमा पहिरोमा पुरिएका २३ जनामध्ये २ जना बुधबार मृत फेला परेका छन् । सोमबारदेखि पहिरोमा परी सम्पर्कविहीन भएका उनीहरूको उद्धार र खोजीका लागि बुधबार बझाङ सदरमुकामबाट सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको छ । खप्तड छान्ना गाउँपालिकामा ४ जनाको पहिरोमा परेर मृत्यु भएको छ ।

विराटनगर विमानस्थल डुबानमा

मंगलबारदेखिको अविरल वर्षापछि आएको बाढीले विराटनगर विमानस्थल डुबानमा परेको छ । नजिकका वस्ता र केसलिया खोलाको बाढी विमानस्थल पसेको हो । बाढीले विराटनगर–४, ५, १२, १६ का दर्जनौं घर पनि डुबानमा परेका छन् ।

विमानस्थल प्रमुख उत्सवराज खरेलले धावनमार्गको एक किलोमिटर क्षेत्रमा तीन फिटसम्म पानी जमेपछि बुधबार सबै उडान ठप्प भएको बताए । खरेलका अनुसार विराटनगरबाट दिनमा २१ उडान हुँदै आएका छन् । मंगलबार साँझ पनि बुद्ध र श्री एयरको अन्तिम उडान हुन सकेको थिएन । खरेलका अनुसार पानी नघटेकाले उडान सुरु कहिलेदेखि हुने भन्ने निश्चित छैन ।

पूर्वी पहाडमा सडक अवरुद्ध

अविरल वर्षाले पहाडका अधिकांश जिल्लामा पहिरो जाँदा सडक अस्तव्यस्त बन्न पुगेको छ । मेची राजमार्गअन्तर्गत इलामको देउमाई नगरपालिका–१ स्थित देउमीखोपमा झरेको पहिरोका कारण यातायात ठप्प छ । बाढीले फाकफोकथुम र देउमाई नगरपालिकाबीचमा रहेको देउमाई खोलाको पुल पनि मंगलबार राति बगाएको छ । करिब ५० मिटर क्षेत्रमा झरेको पहिरोका कारण पाँचथर, ताप्लेजुङतर्फ जाने र त्यताबाट इलाम, झापातर्फ झर्ने सवारीसाधन रोकिएका हुन् । राजमार्ग खुलाउने प्रयास निरन्तर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षाका कारण फिक्कल, इलाम नगरपालिकालगायत क्षेत्रमा झरेको पहिरो हटाइसकिएको छ । इलामबाट झापातर्फका सवारीसाधन दिउँसोदेखि सञ्चालन भएका छन् । इलाम बजारनजिक नारायणस्थानको पहिरो थप गहिरिएको छ ।

तीन दिनदेखिको निरन्तर वर्षाले ओखलढुंगामा पनि दर्जनौं स्थानमा पहिरो गई मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध छन् । सिद्धिचरण नगरपालिकामा पर्ने छरछरेको पहिरोले चिशंखुगढी गाउँपालिका जाने बाटो रोकेको छ । त्यसैगरी मोलुङ गापा जोड्ने रामपुर सडकको पहिरे खोला, सुनकोसी गापा र मानेभन्ज्याङ जोड्ने माझीगाउँलगायतका ठाउँमा बाटो भत्किएका छन् । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको हैवारमा गएको पहिरोले दुई दिनदेखि यात्रु बाटोमै अलपत्र परेका छन् । उदयपुरको घुर्मी–कटारी सडकमा पनि पहिरोले बाटो बिग्रिएको छ । जसका कारण तराई जाने यात्रु समस्यामा परेका छन् । बाढीले सडक भत्काएपछि बन्द रहेको कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड २४ घण्टापछि दिउँसोदेखि एकतर्फी खुलेको छ । साँगुरीगढी–६ घण्टेमा लेउती खोलाको बाढीले करिब २ सय मिटर सडक बगाएपछि यातायात अवरुद्ध भएको थियो । धनकुटाको भेडेटार–राजारानी–६ नम्बर बुधबारे सडकसमेत क्षतिग्रस्त भएको छ । उक्त सडकमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ । पहिरो र बाढीले धरान–धनकुटा सडक खण्डमा क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिए ।

सेतीमा फसेकाको उद्धार

बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा सेती नदीमा फसेकाहरूको उद्धार गरिएको छ । नदीको बहाव घटेपछि बुधबार प्रहरी र स्थानीयले उनीहरूलाई उद्धार गरेका हुन् । सोमबार राति ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेर बनेको टापुमा ६० जना फसेका थिए ।

महाकालीमा जोखिम कायमै

महाकाली नदीमा बाढी घटे पनि जोखिम कम भएको छैन । बाढीले नदी किनारको पहुँच मार्ग भत्काइसकेका कारण बाढी बस्तीमा पस्ने जोखिम बढेको छ । जसका कारण विस्थापित हुनेको संख्या बढेको छ ।

बुधबार साँझको मापनअनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २८ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाव घटे पनि कटान झनै तीव्र पारेको छ । ‘जतिबेला पनि बाढी बस्तीमा पस्न सक्छ,’ स्थानीय नरेन्द्र रानाले भने, ‘बाढी घटेपछि कटान बढेको छ, पहुँचमार्ग बगाइसकेको छ ।’

सुदूरपश्चिमका सबै सडक अवरुद्ध

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने धनगढी–डडेलधुरा राजमार्ग र अन्य सडकमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमका अनुसार धनगढी–डडेलधुरा राजमार्ग, बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, बैतडी दार्चुला जोड्ने महाकाली राजमार्ग तथा डडेलधुरा–डोटी, डोटी–अछाम र अछाम–बाजुराको मार्तडी राजमार्गको विभिन्न सडक खण्डका ठाउँठाउँमा सानाठूला पहिरो खसेर तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ ।

६० परिवारको उद्धार

पानीको सतह बढेपछि कर्णाली र भेरी नदी किनारका ६० परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । भेरी र कर्णाली नदीको संगमस्थल चौकुने–९ घाटगाउँका राजी र माझीबस्ती डुबानमा परेका हुन् । कर्णालीमा आएको बाढीले नदीलाई करिब एक किलोमिटर माथितिर फर्काएर पुलसम्म पुर्‍याएको निरीक्षणमा गएकी कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्तीले बताइन् । उनका अनुसार बाढीकै कारण शिवालय मन्दिर र पार्कसमेत डुबानमा परेको छ । डुबानमा परेका ६० परिवारका २ सय ८० जनालाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

हजारभन्दा बढी परिवार विस्थापित

आइतबारदेखिको वर्षाले कैलालीको पूर्वी भेगका अधिकांश गाउँबस्ती डुबानमा परेका छन् । कर्णाली, कन्द्रा, मोहना र पथरैयालगायतका सानाठूला नदी खोलाको पानी बस्तीमा पसेको हो । बुधबार घाम लागे पनि कर्णाली नदीको पानी अझै बस्तीमा आइरहेको छ । टीकापुर नगरपालिका–१ शिवनगरका सयौं कच्ची घर भत्किएका छन् । बाढीमा परेर एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताएका छन् । टीकापुर र राजापुर जोड्ने हुलाकी सडक टीकापुर नगरपालिकाको सत्तीमा भत्किएर बाटो अवरुद्ध बनेको छ । टीकापुर बजार डुबानमा परेको छ । कर्णाली तटीय क्षेत्रमा सयौं बिघाको धानबाली नष्ट भएको छ । -कान्तिपुर

Nabintech