७ बैशाख २०८१, शुक्रबार
मैत्रीपूर्ण खेलमा नेपाली यू २३ टोली पराजित

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०७८, शनिबार ०८:१९

ताजिकिस्तानमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली शुक्रबार इन्डोनेसिया यू २३ सँगको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम रहेको नेपाली टोलीले पहिलो हाफमा इन्डोनेसियालाई रोकेपनि दोस्रो हाफमा भने गोलको सामना गरेको थियो ।

इन्डोनेसियाका लागि हसिन सागधराले ५५ औं मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा विटेन सुलेमानले गोल गरेपछि इन्डोनेसियाले २–० को जित हासिल गरेको थियो । एसियन कप छनोटमा नेपाल एसियाली फुटबलको पावरहाउस इरान, लेबनान र आयोजक ताजिकिस्तानको समूहमा रहेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । टोलीले पछिल्लो एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) मा नियमित प्रशिक्षण गरिरहेको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र लेबनानसँग ३१ अक्टोबरमा प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

नेपाली यू २३ फुटबल टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

Nabintech