१२ बैशाख २०८१, बुधबार
भारतबाट फर्केकाहरुको सीमानाकामा स्वास्थ्य परीक्षण, ३९१ मा कोरोना पुष्टि

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०७८, सोमबार ०७:३१

भारतबाट फर्केकाहरुको सीमानाकामा स्वास्थ्य परीक्षण, ३९१ मा कोरोना पुष्टि

भारतका विभिन्न ठूला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्केका दुई लाख ५१ हजार भन्दा बढी नेपालीको जमुनाहा नाकामा स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणबाट ३९१ जनामा कोभिड पुष्टि भएको छ । कोरोनाको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गरेर भारतका जोखिममा सूचीकृत ठूला सहरमा काम गरेर फर्किएका नेपालीमा कोभिड देखिएको छ । स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिने व्यवस्था गरिएको छ । गत दुई महिनाको अवधिमा भारतबाट फर्किएका दुई लाख ५१ हजार ८७२ जनाको स्वास्थ्य परीक्षण गरिएकामध्ये ज्वरो र रुघाखोकी देखिएका ३८ हजार ६५५ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । परिक्षण गरिएकामध्येबाट ३९१ जनामा कोरोना पुष्टि भएको जनाउँदै तीमध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाइएको र जटिल समस्या देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा पठाइएको बताउनुभयो । कोभिड महामारी पुष्टि भएकालाई नाकाबाटै अलग गरेर सुरक्षित रुपमा सम्बन्धित ठाउँमा पठाउन सफल भएकोले कोरोना सङ्क्रमण फैलिन नपाएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार सीमा नाकामा अत्याधुनिक हेल्थ डेस्क राखेर स्वास्थ्य परिक्षण नगरिएको भए अवस्था जटिल बन्न सक्ने अवस्था थियो । भारतबाट आउने अधिकांशको स्वास्थ्य जाँच गरिएकोले सङ्क्रमण फैलिन नपाएको केन्द्रको भनाई छ ।
भारतको गुजरातबाट फर्किनुभएका दैलेख नौमुलेका राजन थापाले जमुनाहा नाकामा सबैको ज्वरो परिक्षण गरिएको बताउनुभयो । आफ्नो समूहमा रहेका कसैलाई पनि ज्वरो र रुघाखोकी भएको नपाइएकाले सहज रुपमा भित्रिन पाएको उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण भित्रिन नदिन नाकामा कडाइ गरिएको जमुनाहा प्रहरीले जनाएको छ । जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख सई मिनबहादुर विष्टले नाकामा जनपथ र सशस्त्र प्रहरीले संयुक्त रुपमा भारतबाट फर्किने सबैको स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको बताउनुभयो । ज्वरो, रुघाखोकी भएकालाई सिधै हेल्थ डेस्कमा पठाएर एन्टिजेनमार्फत कोरोना परीक्षणपछि मात्र नेपाल छिर्न दिइएको उहाँले बताउनुभयो । -गोरखापत्रअनलाईनबाट

Nabintech