१४ बैशाख २०८१, शुक्रबार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी सङ्गठन र ‘नेकपा’ द्वारा आन्दोलन घोषणा

  • टाइम्स संवाददाता

  • २५ कार्तिक २०७८, बिहीबार १७:२७

६ वटा विद्यार्थी सङ्गठन र विप्लव नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले इन्धनमा भएको मूल्य वृद्धि तत्कालै फिर्ता लिन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनमा भएको मूल्य वृद्धि विरुद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ । नेपाल आयल निगमले हिजाे बिहीवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको बढेको मूल्यवृद्धि खारेजीको मागसहित नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा इन्धनमा भएको मूल्य वृद्धिले नागरिक मारमा पर्ने भन्दै सम्पूर्ण मुनाफा र करसहित ७० रुपैयाँमा पेट्रोल बिक्री गर्न सकिने उल्लेख गरिएको छ । नेकपाले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी प्रदर्शन, २६ गते बेलुका मसाल जुलुस, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । माग पूरा नभए ३० गते नेपाल बन्द गर्ने नेकपाले जनाएको छ ।

यसैबीच विभिन्न ६ विद्यार्थी सङ्गठनले पनि मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्ने घोषणा गरेका छन् । पञ्चा सिंह अध्यक्ष रहनुभएको अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, हरिकृष्ण गजुरेल अध्यक्ष रहनुभएको अखिल क्रान्तिकारी र प्रकाश शाही अध्यक्ष रहनुभएको अखिल क्रान्तिकारी र अखिल छैटौँ ले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले मूल्य वृद्धिको विरोधमा आज साढे ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै छन् । उनीहरूले भोलि शुक्रवार ९ बजेदेखि ११ बजेसम्म निगमका कार्यकारी निर्देशक लगायतलाई प्रवेश निषेध तथा घेराउ, २८ गते दिउँसो २ बजे प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन, ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखेर विरोध गर्ने तथा मङ्सिर २ गते  दिउँसो २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।

Nabintech