१४ बैशाख २०८१, शुक्रबार
देशभर लागू हुने गरी बढ्यो दूधको भाउ

लुम्बिनीमा आधा लिटरको ४० रुपैयाँ ५० पैसा, नेपालगञ्ज र धनगढी क्षेत्रमा ३९ रुपैयाँ ५० पैसा


  • टाइम्स संवाददाता

  • २७ माघ २०७८, बिहीबार १९:३८

काठमाडौं : सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी)ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल गरेका छन् र केही दिनमा नयाँ मूल्य तोक्ने बताएका छन् ।

डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले भने डीडीसीका दूधमा शुक्रबारदेखि मूल्य बढ्ने बताए । ‘संस्थानको सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाउने निर्णय भएको छ । सबै प्रकारको दूधको मूल्य बढेको छ,’ झाले भने ।

डीडीसीले बिक्री गर्ने स्ट्यान्डर्ड दूध (निलो प्याकेट)को बजार मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर मूल्य ८५ रुपैयाँ तोकिएको छ । यस्तै बुटवल, भैरहवामा एक लिटरको मूल्य ८१ रुपैयाँ, नेपालगञ्ज र धनगढी क्षेत्रमा ७९ रुपैयाँ कायम भएको छ । यसअघि यस्तो दूधको मूल्य काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा प्रतिलिटर ७० रुपैयाँ थियो । नीलो प्याकेटको आधा लिटर दूधको मूल्य काठमाडौं, हेटौंडा, विराटनगर र जनकपुरमा यसअघि ३८ रुपैयाँ रहेकामा अब बढेर ४२ रुपैयाँ ५० पैसा पुगेको छ ।

लुम्बिनीमा आधा लिटरको ४० रुपैयाँ ५० पैसा र नेपालगञ्ज र धनगढी क्षेत्रमा ३९ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ । हरियो प्याकेटमा १४ रुपैयाँ वृद्धि पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ ।

डीडीसीले बिक्री गर्ने गाईको दूध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ । अब यस्तो दूधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ । लुम्बिनी, नेपालगञ्ज र धनगढीमा यस्तो दूधको मूल्य ९० रुपैयाँबाट बढेर एक सय रुपैयाँ पुगेको छ ।

डीडीसीले चिया दूध भनेर बिक्री गर्दै आएको दूधको मूल्य लिटरमा १० रुपैयाँले बढेको प्रतिलिटर ८० पुगेको छ । विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । लुम्बिनी, नेपालगञ्ज र धनगढीमा ७० रुपैयाँ बनाइएको छ ।

Nabintech