७ बैशाख २०८१, शुक्रबार
ठाकुरबाबामा दश वर्षे शिक्षा योजना निर्माण कार्यशाला शुरु

  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०७८, मंगलवार १९:०३

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी तीन दिने कार्यशाला शुरु गरेको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच ९स्याक नेपाल० बाँकेको सहकार्यमा नगरभित्रका शिक्षासँग सम्बन्धित क्षेत्रहरुका व्यक्तिको उपस्थितिमा सोमबारदेखि शुरु भएको हो ।

ठाकुरबाबा नगर प्रमुख घननारायण श्रेष्ठले नगर क्षेत्रको शिक्षा सुधारका लागि उल्लेख्य लगानी गरिएको बताउदै संघ, प्रदेश तथा अन्य स्रोतबाट प्राप्त हुने बाहेक नगरको आफ्नो समानीकरण, समपुरक बजेटबाट शिक्षामा लगानी गरिएको प्रष्ट पारे ।

उनले ठाकुरबाबामा शिक्षा क्षेत्रको बिकासका लागि बिभिन्न नीति नियम तथा निर्देशिकाहरु निर्माण गरिएको बताउदै यहाँको शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन बिभिन्न कार्यक्रमहरु तथा समन्वय गरिएको दाबी गरे । यसका साथै कार्यशालाले सबै पक्षलाई समेटी नमूना दश वर्षे कार्य योजना निर्माण गर्न सुझाव दिए ।

प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले नगरपालिकाको शिक्षाको बिकास तथा सुधारका लागि बिद्यालय, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बिभिन्न संघ संगठन लगायतसंग नियमित समन्वय सहकार्य आवश्यक नीति नियमहरुका बारेमा छलफल गरिरहेको जानकारी दिए ।

कार्यशालामा ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कुष्मा थारु, वडा नं १ का वडा अध्यक्ष श्यामलाल थारु, नेकपा एमाले नगर अध्यक्ष जीवनबहादुर शाही, नेपाली कांग्रेस नगर सभापति पदमबहादुर खड्का, नेकपा माओबादीका चित्रप्रसाद खनाल, प्लानका शिक्षा बिज्ञ बेद डाँगी, नेपाल शिक्षक महासंघ अध्यक्ष बामदेव ढकाल, नेपाल शिक्षक संघका खडकप्रसाद उपाध्याय, नेपाल राष्टिय शिक्षक संगठनका कलमबहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

कार्यशालामा बिगत ५ वर्षमा ठाकुरबाबा नगरपालिकाभित्र विद्यार्थीको उपस्थिति लगायत शिक्षाको अवस्था, शैक्षिक उपलब्धीका बारेमा छलफल गरिएको छ । ठाकुरबाबाको दश वर्षे नगर शिक्षा योजना शन्दर्भमा तीन वटा पालिका छनौट गरिएको, शिक्षा क्षेत्र योजना ९सन २०२१ देखि २०३००, राष्ट्रिय शिक्षा नीति २०७६, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, नगरको २० वर्षे गरुयोजना, स्थानीय सरकार संचालन ऐन २०७४ र नगर शिक्षा योजनाका लागि २ वटा अभिमुखिकरण कार्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ ।

तीन दिनसम्म चल्ने कार्यशालामा पहिलो दिन दश वर्षे योजनाको तयारी प्राबिधिक बिषयगत समिति गठन, योजना तर्जुमासंग सम्बन्धी अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी तीन वटा प्रस्तुती गरिएको थियो ।

प्रस्तुतिकरणमा सहभागी सरोकारवालाहरुबाट आएका सुझाव एवं नविनतम कार्ययोजना प्राप्त भएको र मस्यौदाको अन्तम रुप दिनका लागि पुन: १० गतेदेखि १२ सम्म कार्यशाला गरि अन्तिम रुप दिने कार्ययोजना रहेको छ । कार्यक्रम शिक्षा प्रमुख शिक्षा कुमारी भण्डारीले संचालन गरेकी थिईन ।

Nabintech