१५ चैत्र २०८०, बिहीबार
नेपाली कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:०२

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । नारायणप्रसाद गौडेल, सुरेन्द्र हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ता स्थल जिल्ला समन्वय समिति पुगेर चारै जना नेताले उम्मेदवारी दर्ता गराएका हुन् । गौडेल संस्थापन इतर तथा हमाल, कुर्मी र राणा संस्थापन समूहका नेता हुन् ।

गौडेलले प्यानलसहित उम्मेदवारी दर्ता गराउँदा संस्थापन समूहले भने सभापति बाहेक अन्य पदमा मात्र प्यानल दर्ता गरायो । सभापतिमा सहमति जुट्न नसकेपछि सभापतिमा संस्थापनबाटै तीन जनाको उम्मेदवारी परेको हो । गौडेलको प्रस्तावकमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी र समर्थकमा कांग्रेस बाँकेकी सभापति किरण कोइराला छिन् । गौडेलले शुरुमै उम्मेदवारी दर्ता गराएका थिए ।

दोस्रोमा उम्मेदवारी दर्ता गराएका हमालको समर्थकमा नरेन्द्र थापा र प्रस्तावकमा रोशनकुमार श्रेष्ठ छन् । तेस्रोमा उम्मेदवारी दर्ता गराएका कुर्मीको प्रस्तावकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ र प्रस्तावकमा सचिव ज्ञान बहादुर वली छन् । चौथोमा उम्मेदवारी दर्ता गराएका राणाको प्रस्तावकमा नवीनकुमार भट्ट र समर्थकमा युवराज शाह छन् ।

यस्तै दुई जना उपसभापतिका लागि गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्णकुमार कार्की र सुदिननरसिंह राणाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी र मौर्य गौडेल प्यानलका हुन् भने कार्की र राणा संस्थापनका हुन् । दुई सचिवका लागि पनि चार जनाको उम्मेदवारी परेको छ ।

सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र हमाल र सञ्जुकुमारी चौधरीको उम्मेदवारी परेको छ । कोइराला र काफ्ले गौडेल तथा हमाल र चौधरी संस्थापन समूहका हुन् । यस्तै दुई सहसचिवका लागि रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद थारुले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर र लम्साल गौडेल तथा ठकुरी र थारु संस्थापन समूहका हुन् । यस्तै सदस्यहरुमा पनि प्यानलगत उम्मेदवारी दर्ता भएको छ ।

विहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न फागुन १९ गते मतदान हुँदैछ । विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।

Nabintech