१६ चैत्र २०८०, शुक्रबार
जानकी गाउँपालिका वडा नं. ६ को आफ्नै भवन बन्ने

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:०३

नेपालगञ्ज : पूर्वाधार अभावमै सेवा प्रवाह गरिरहेको बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ को आफ्नै भवन बन्ने भएको छ । वडा नं. ६ को कैरातीपुर्वामा वडा कार्यालय भवन निर्माण हुन लागेको हो ।

शुक्रवार आयोजित कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमीसरा धिताल, प्रमूख प्रशासकीय अधिकृत बसबहादुर राना, स्थानीय समाजसेवी तथा जग्गादाता रामगोपाल बर्माले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

वडा पालिकाले आफ्नो कार्यालय भवन निर्माण गर्न लागेको उक्त जग्गा स्थानीय समाजसेवी तथा साबिकको गनापुर गाविसका पूर्वअध्यक्ष रामगोपाल बर्माले निःशुल्क दान गरेको वडाध्यक्ष सुरेश यादवले जानकारी दिए ।

समाजसेवी वर्माले कार्यालय भवन निर्माणार्थ २ कठ्ठा जग्गा उपलब्ध गराएको अध्यक्ष यादवले बताए । कार्यालय भवन निर्माणका लागि सोनाम कन्ट्रक्सन सिमिकोट हुम्लाले ठेक्का पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।

भवन निर्माणपछि वडा कार्यालयबाट हुने सेवा प्रवाहमा सहज हुने प्रमुख प्रशासकीय अधिकृत रानाले बताए । शिलान्यास कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष भूमिसरा धितालले जनताले आफ्ना लागि काम गरिदिन निर्वाचित गरेपछि त्यही अनुरुप काम गरेको बताइन् ।

रानाका अनुसार, भवन निर्मानार्थ ६० लाख रुपैयाँमा टेण्डर गरिएकोमा सो कन्ट्रक्सनले भ्याटसहित ३६ लाख रुपैयाँमा टेण्डर पारेको हो । तीन कोठा एउटा हलसहितको सो भवन निर्माणका लागि कम्पनीसङ्ग एक बर्षको समयसीमा तोकिएको हो ।

शिलान्यास कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य पदम धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, जनप्रतिनिधि, वडाका कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय सुरक्षाकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

Nabintech