७ बैशाख २०८१, शुक्रबार
चरेशसहित तीन पक्राउ

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७८, शुक्रबार १८:१८

नेपालगन्ज : नेपाल-भारत जमुनाहा नाकाबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो २ बजेतिर ३ किलो चरेशसहित एक जना पुरुष र दुई जना महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) मिनबहादुर विष्टले जानकारी दिएका छन्।

लागूऔषध चरेश सहित सुर्खेत, सिम्ता गाउँपालिका ४ का ४० वर्षका विरेन्द्र हमाल, सोही ठाउँकी ३८ वर्षीया दिपा बुढा र शिवालय गाउँपालिका वडा नम्बर २ जाजरकोट निवासी २३ वर्षीया खिमा खत्री पक्राउ परेको उनले बताए।

जमुनाहा नाका हुँदै भारततर्फ शंकास्पद तरिकाले जाँदै गरेका उनीहरुलाई सोधपुछ गरेर चेकजाँच गर्ने क्रममा महिलाले बोकेको झोलामा प्लाष्टिकले बेरिएको अवस्थामा उक्त चरेश फेला पारिएको सई विष्टले बताए।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। उनीहरुविरुद्ध लागूऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

Nabintech