१२ बैशाख २०८१, बुधबार
नरभक्षी बाघ नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १८ फाल्गुन २०७८, बुधबार १३:२१

नेपालगञ्ज : बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरको जंगलबाट आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी जंगलबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए । पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उ पभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघले पाँच जनाको ज्यान लिइसकेको थियो । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए ।

Nabintech