१५ बैशाख २०८१, शनिबार
पुरानो नगर भवनमा ब्यवसायिक कम्पलेक्स बन्ने

  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७८, बुधबार १७:४६

नेपालगञ्ज : नेपालगञ्जको पहिचानको रुपमा रहेको नगर भवन अत्याधुनिक पहिचान सहित निर्माण हुने भएको छ । टाङ्गा स्टेशन नजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो । अण्डरग्राउण्ड पार्किङ्ग सुविधा भएको ब्यवसायिक कम्पलेक्स सहितको वहुउद्देश्यीय सभाहलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले शिलान्यास गरे ।

नगर भवनको शिलान्यास गर्दै नगर प्रमुख डा. राणाले यो भवन निर्माण सम्पन्न भएपछि नेपालगञ्जको विकासमा कोशेढुंगा साविक हुने बताए । उनले समयभित्रै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा वेसमेन्ट सहितको ब्यवसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भएपनि पहिलो चरणमा चार करोडको लागतमा वेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुनेछ । चालू आर्थिक बर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको इञ्जिनियर निवेशकुमार शर्माले जानकारी दिए ।

योजना अनुसार वेसमेन्ट बाहेक तीन तल्ले भवन बन्नेछ । तेश्रो तल्लामा ५०० क्षमताको वहुउद्देश्यीय सभाहल दोश्रो चरणमा निर्माण हुनेछ । अहिले पहिलो चरणमा वेसमेन्ट पार्किङ र ब्यवसायिक सटर निर्माण हुनेछ । पार्किङकमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिनेछ । यसैगरी १९ वटा सटर निर्माण गरिनेछ । कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर ५ का वडाध्यक्ष कैफुल बरा जोलाह, वडा नम्बर २ का वडाध्यक्ष सुनिल सिंह हमाल, वडा नम्बर ११ का वडाध्यक्ष उज्ववलसिंह राठौर, वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा, लेखा प्रमुख लोकेन्द्र रावत, प्राविधिक शाखा प्रमुख इञ्जिनियर भुपेन्द्र बोहरा, प्रशासन शाखाका अधिकृत सन्तोषी विष्ट, नगर प्रहरी निरीक्षक सूर्य बोगटी लगायतको उपस्थिति थियो ।

Nabintech