१६ चैत्र २०८०, शुक्रबार
जमुनाहादेखि कोहलपुरसम्मको क्षेत्रमा अतिक्रमित संरचना हटाउन सुरु

  • टाइम्स संवाददाता

  • १० चैत्र २०७८, बिहीबार १९:१६

नेपालगन्ज : सडक डिभिजन कार्यालय नेपालगन्जले नेपालगन्ज, कोहलपुर र सुर्खेत सडकखण्ड अन्तर्गत बाँके जिल्लाको जमुनाहादेखि कोहलपुरसम्मको क्षेत्रमा अतिक्रमित संरचना हटाउन सुरु गरिएको छ । सार्वजनिक सडक ऐन, २०३१ ले तोकेको मापदण्ड विपरित निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर विहीबारदेखि भत्काउन सुरु गरिएको कार्यालयका डिभिजन प्रमुख होमबहादुर एसीले बताए।

२०६९ असोज ४ गते नेपाल सरकार मन्त्रिपरिषदबाट विल्डर्स एरियाको लागि तोकेको मापदण्ड विपरित रहेका स्थाई अस्थाई संरचनाहरु हटाउने निर्णय गरेबमोजिम कार्यालयले एक्सन लिएको एसीले जानकारी दिए। मन्त्रिपरिषदको निर्णयअनुसार हाललाई सडकको दुवै तर्फ २१–२१ मिटरलाई विल्डर्स क्षेत्र तोके पनि कालान्तरमा २५ मिटर कायम गरिने बताए ।

जमुनाहादेखि कोहलपुर सडकखण्डमा २१ देखि २५ मिटरसम्मको मापदण्ड तोएिको छ । सोही बमोजिम मनपरी संरचना बनाउँदा सडक अतिक्रमण बढेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले विहीवार सुरक्षाकर्मीसहित कोहलपुर बजार पुगेर कार्य सुरु गरेको हो ।

नागरिक उद्योग वाणिज्य संघ कोहलपुरले संरचना भत्काउन थप ७ दिनको माग गरेपछि प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीकोको उपस्थितिमा सोहीअनुसारको निर्णय गरिएको छ । संरचना भत्काउन डोजर सम्बन्धित ठाउँमा पुग्दा स्थानियले जानकारी नपाएको बताएपनि सडक डिभिजन कार्यालय सूचना प्रवाह समयमा नै गरेको जानकारी दिएको छ ।

यसअघि पुष मसान्तसम्म संरचना हटाउन समयसीमा तोकिएको थियो । तर पनि घरधनी तथा व्यापारीले अटेर गरेपछि सरोकारवाहरु डोजरसहित संरचना भत्काउन पुग्नुभएको थियो । कोहलपुरमा सडक अतिक्रमण हटाउने कामको लागि एक हप्ताको समय माग गरेपछि नेपालगन्ज कोहलपुर सडक खण्डमा पर्ने जानकारी गाउँपालिका वडा ६ पिप्रहवाबाट संरचना भत्काउन सुरु गरिएको छ ।

यो क्रम जमुनाहासम्म चल्ने र कोहलपुरमा एक हप्ताभित्र संरचना नभत्काए डोजर प्रयोग गरिने सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख एसीले बताए। अतिक्रमित संरचना हटाउन अनुरोध गर्दै अनुगमनमा निस्कनु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सार्वजनिक सम्पत्ति मिचेर बाधा अवरोध नगर्न सबैलाई अनुरोध गरे।

Nabintech