१३ बैशाख २०८१, बिहीबार
छात्रालाई विद्यालयमा नियमित गराउन सेनेटरी प्याड वितरण

  • टाइम्स संवाददाता

  • ११ चैत्र २०७८, शुक्रबार १६:२८

नेपालगञ्ज : सामुदायिक विद्यालय र मदरसामा छात्राहरुको नियमित उपस्थिति बढाउन नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सामदायिक विद्यालय र मदरसामा अध्यनरत छात्रालाई सेनेटरी प्याड वितरण गर्न सुरु गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिनावारीका समयमा छात्राहरुलाई विद्यालयमा कुनै कठिनाइ नहोस् र नियमित विद्यालय आउन सकुन् भनेर सो उमेर समूहका छात्रालाई सेनेटरी प्याड दिने कार्यक्रम ल्याइएको बताईन् ।

“हाल नगरका विभिन्न सामुदायिक विद्यालय र मदरसामा छात्रालाई सेनेटरी प्याड वितरण अभियानकै रुपमा अघि बढाइएको छ” उपप्रमुख थापामगरले भनिन्,– “यसबाट सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समेत टेवा पुग्ने विश्वास लिएका छौं ।”

छात्राहरुलाई विद्यालयमा नियमित उपस्थिति बढाउने मात्रै नभई उहाँहरुको स्वास्थ्य र सरसफाइमा पनि टेवा पुगोस् भनेर अभियान चलाइएको उपप्रमुख मगरले बताईन् । महिनावारी भएपछि छात्राहरु विद्यालयमा अनुपस्थित हुन थालेपछि उपमहानगरपालिकाले छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउने नीति लिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालय र मदरसामा अध्यनरतमध्ये महिनावारी हुने उमेर समूहका गरी करिब ११ हजार छात्रालाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए ।

धम्बोझी माध्यामिक विद्यालयबाट सुरु भएको यो अभियान नगरका सम्पूर्ण विद्यालयसम्म पुग्ने उप–महानगरपालिकाले जनाएको छ । प्रत्येक छात्रालाई ६.५ पोकाको दरले सेनेटरी प्याड उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

Nabintech