११ बैशाख २०८१, मंगलवार
बाँके प्रहरीमा घरेलु हिंसाका ५ सय २६ उजुरी

  • टाइम्स संवाददाता

  • १६ चैत्र २०७८, बुधबार १९:१६

नेपालगञ्ज : बाँके प्रहरीमा चालु आर्थिक वर्षमा घरेलु हिंसाका ५ सय २६ उजुरी परेका छन् । तीमध्ये ६४ मुद्दामात्रै अदालतसम्म पुगेका छन् ।

२ सय ६२ हिंसाका घटनामा मिलापत्र भएको बाँके प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता केन्द्र केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक दिलसरा राना क्षत्रीले बताइन् । पीडित भनिएका कतिपय महिला छलफलपछि आफैं मिलापत्र गर्न तयार हुने भएकाले मुद्दा नै चलाउनुपर्ने अवस्था नरहने उनको भनाई छ ।

घरेलु हिंसामा परेका महिलाले प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफैं मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाब र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाले नचाहेर पनि मिलापत्र गर्न बाध्य भएको उनले बताइन् ।

अधिकारकर्मी केशव कोइरालाले सामाजिक परम्पराका कारण हिंसामा परेका महिला मिलापत्र गर्न बाध्य हुने गरेको बताए ।

जिल्ला बारका पूर्वअध्यक्ष तथा अधिवक्ता विश्वजित तिवारीले हिंसाका घटनालाई कानुनले फौजदारी अपराधका रूपमा व्याख्या गरेको बताउँदै पीडित महिलाहरू आफ्नै परिवारविरुद्ध मुद्दा दर्ता गर्न डराउने गरेकाले कतिपय घटना मिलापत्रमा टुंगिने गरेको बताए ।

Nabintech