६ बैशाख २०८१, बिहीबार
बाँकेमो लगाइएको बसन्ते मकैमा फौजी किराको प्रकोप

  • टाइम्स संवाददाता

  • १९ चैत्र २०७८, शनिबार १८:३४

नेपालगञ्ज : बाँके, बर्दिया, कैलालीलगायत तराईका जिल्लामा लगाइएको बसन्ते मकै बालीमा अमेरिकन फौजी किराले किसानलाई चिन्तित बनाएको छ । हुर्कदैगरेको मकै बालीमा किरा देखिएपछि किसान चिन्तित बनेका हुन् ।

अमेरिकन फौजी कीराले छोटो समयमा नै बाली सखाप पार्ने भएपछि किसानले विषादि छर्कन शुरु गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ७ सर्रीका किसान चक्रबहादुर थापाले १५ कठ्ठामा लगाएको मकैमा फौजी किराले आक्रमण गरेर हैरान गरेको बताए ।

त्यस्तै, बाँकेको डुडुवा गाउँपालिका ६ हिरमिनियाका किसान जयपाल मौर्यले ८० कठ्ठामा बसन्ते मकै लगाएका छन् । उनले लगाएको मकैमा अमेरिकन फौजी किरा भरिएको छ । यसरी जिल्लाभरी नै आक्रामक अमेरिकन फौजी किरा देखिएपछि कृषि ज्ञान केन्द्र बाँकेले समस्या निराकरणका लागि पहल थालेको छ ।

विभिन्न संघ संस्था तथा निकायको सहयोगमा ज्ञान केन्द्रले स्थलगत अनुगमन र निशुल्क रुपमा औषधीको व्यवस्था गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । बाँकेमा यो बर्ष बसन्ते मकै ३५ सय ५० हेक्टर क्षेत्रफलमा रोपिएको छ ।

बाँकेमा मकैको पकेट क्षेत्रका रुपमा राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्र छन् । यी बाहेक अन्य स्थानमा पनि निर्वाहमुखि मकै खेती गर्ने किसान बढिरहेका छन् ।

उता बर्दिया जिल्लाभरी पनि फौजी किरा देखिएको एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरेले बताए । उनकाअनुसार बर्दियामा यसबर्ष बसन्ते मकै ४१ सय हेक्टरमा लगाइएको छ । किरा नियन्त्रणका लागि स्थलगत अनुगमन गरेर काम शुरु गरिएको उनले बताए ।

यस्तै कैलालीमा पनि फौजी किराको आतङ्क फैलिएपछि विषादी वितरण गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । कैलालीमा चारसय हेक्टरमा ६ सय परिवारले मकै खेती गरेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । अमेरिकन फौजी किरालाई मिचाहा सिपाही किरा, खतरनाक फौजीकिरा तथा आक्रामक फौजीकिरा पनि भन्ने गरिएको स्थानीयको भनाइ छ ।

Nabintech