१५ बैशाख २०८१, शनिबार
नेपालगञ्ज रंगशालाको स्तरोन्नती हुने

  • टाइम्स संवाददाता

  • २४ चैत्र २०७८, बिहीबार १८:५२

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो ।

चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत शुनिश्चित गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्री पद सम्हालेदेखिनै नेपालगञ्ज रंगशालाको अधुरो काम पुरा गर्ने प्रतिवद्धता जनाउँदै आएका थिए ।

रंगशालामा सेन्थेटिक ट्रयाकका साथै फ्लड लाईट जडानका लागि पहल गर्दै आएका मन्त्री अथकले चालु आर्थिक वर्ष भित्रै निर्माण कार्य शुरु हुने गरी सेन्थेटिक ट्रयाकका लागि बजेट सुनिश्चित गराएका हुन् ।

आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाईट जडान लगायतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगञ्ज रंगशाला स्तरोन्नतीको प्रक्रिया शुरु भएको छ ।

 

Nabintech