१२ बैशाख २०८१, बुधबार
कारको ठक्करबाट बाँकेमा तीन जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७८, सोमबार १९:०६

नेपालगञ्ज : कारको ठक्करबाट नेपालगञ्जमा तीन जनाको मृत्यु भएको छ । आइतवार राती पौने १२ बजे नेपालगञ्जको विपी चोक र धम्बोझी चोकको बीच सडकमा हिँडिरहेका तीन जनालाई कारले ठक्कर दिँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कारकाँदोबाट गणेशमान चोकतर्फ गइरहेको प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्करबाट नेपालगञ्ज ११ सुन्दरमण्डीका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कसिम इद्रिसी र ५ वर्षीय अलि अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । गर्मी भएपछि उनीहरु हावा खान सडकमा निस्केका थिए । समिना र कसिम हजुरआमा–नाती र अन्सारी छिमेकी हुन् ।

पैदलयात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगेका थिए । घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । कार चालक नेपालगञ्ज १० का २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Nabintech