• १६ आश्विन २०७९, आईतवार
एमाले नेपालगञ्जका उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता पत्र

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०७९, शुक्रबार १९:०८

नेपालगञ्ज :  नेकपा एमालेबाट नेपालगञ्ज उप–महानगरपालिकामा आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि प्रमुख तथा उप–प्रमुखका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन ।

शुक्रवार नेपालगञ्जको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र र उपप्रमुख शान्ति ढकाल लगायतले १९ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।

१९ बुँदे सो प्रतिवद्धता पत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य सेवा गुस्तरीय र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकास, फोहोरमैला व्यवस्थापन र सरसफाइ, ग्रीन सिटी परियोजना, सडक तथा यातायात, आवास व्यवस्था, कृषि तथा पशुपन्क्षी, पर्यटक पूर्वाधार विकास तथा प्रवद्र्धन, महिला समानता र सशक्तिकरण, गरिबी निवारण, वन तथा वातावरण एवम् विपद् व्यवस्थापन, युवा तथा खेलकुद, सूचना तथा सञ्चार प्रणाली लगायतका विषय समेटिएको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हारुन हल्वाई, दिपा शर्मा, जिल्ला उपाध्यक्ष डिल्ली विसी, प्रचार विभाग प्रमुख सतिश निरौलालगायतका पार्टी नेताहरुको उपस्थित रहेको थियो ।

                                                            यस्ता छन् चुनावी प्रतिवद्धता  : 

 

१. नीति तथा कानुन निर्माण

नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख समृद्ध र समुन्नत शहरको रुपमा विकसित गर्नका लागि संबिधानले दिएको अधिकार प्रयोग गरी बिज्ञहरुसंगको परामर्शमा नीति, कानुन तथा योजनाहरु तर्जुमा गरिने छ ।
तथ्याङ्क सङ्कलन तथा अभिलेख व्यवस्थापन गरी नेपालगञ्जको गुरुयोजना सहित अवधिक योजना, दिर्घकालीन योजनाको आधारमा वार्षिक योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।

२.शिक्षा – शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनेछ
शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सामुदायिक तथा निजी विद्यालय समेतका शिक्षकलाई नियमित उच्च गुणस्तरिय तालिमको व्यवस्था गरिनेछ ।
स्मार्ट कक्षा लाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पठ्यक्रमको विकास गरिनेछ ।
मदरसाको शिक्षालाई अन्य विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी सुधार गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।

आफ्नै मातृभाषामा पढन चाहने बालबालिकाहरुका लागि अवधीलगायत मातृभाषामा प्राथमिक शिक्षा पठनपाठनको व्यवस्था आरम्भ गरिनेछ ।
प्रारम्भिक बालविकासलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
बिद्यालयहरुमा पुस्तकालयको व्यवस्था (इ–लाइब्रेरीसमेत), खेलकुद मैदान निर्माण, स्वच्छ खानेपानी, सफा शौचालय, थप विद्यालय कक्षा कोठा र विद्यार्थीका निश्चित अनुपातमा शिक्षकको व्यवस्था गरिनेछ ।
बालिकामैत्री शौचालयको व्यवस्था गरी हरेक विद्यालयमा स्यानिटरी प्याड वेन्डिङ मेशिनको प्रबन्ध मिलाइनेछ ।
विद्यालय व्यवस्थापन समितिको प्रभावकारी प्रबन्ध, अभिमुखीकरण र जवाफदेहिता बृद्धि गरी सरकारी बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिनेछ ।
नेपालगञ्जको गर्मी मौसमलाई ध्यानमा राखेर कक्षा कोठाहरुलाई संभब भएसम्म शितल बनाउनकालागि प्यासिभ कुलिङ टेक्निक प्रयोग गरिनेछ ।
त्यसका लागि बिद्यालय भबनको छानामा सोलार प्लानल जडान गरि छतमा सोझै घाम लाग्न नदिएर चिसो बनाइनेछ र बढी घाम पर्ने क्षेत्रमा छाया पर्ने गरी उपयुक्त जातका बिरुवाहरु रोपिनेछ ।
प्रत्येक विद्यालयमा आवश्यकताअनुसार प्राविधिक धार तथा कम्प्युटर प्रयोगशालाको सुनिश्चितता गरिनेछ ।
३.स्वास्थ्य–

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य सेवा गुणस्तरीय र निःशुल्क बनाइने छ । बहिरङ सेवामा रु. ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य बीमा मार्फत रु.१ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइनेछ ।
स्वास्थ्य बीमा योजना घरघर पुरÞ्याउन अभियान चलाइनेछ तथा विपन्न वर्गका व्यक्तिलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइनेछ ।
भेरी अस्पताल र अन्य निजी अस्पतालसँग समन्वय गरी सिधै बीमा कम्पनी मार्फत अस्पताल र औषधीको बिल भुक्तानी गर्ने व्यवस्था मिलाइने छ ।
प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन साप्ताहिक रूपमा चिकित्सक तथा प्रयोगशालाको सेवा उपलब्ध गराइनेछ । त्यसका लागि आवश्यक संख्यामा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिनेछ ।
प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको व्यवस्था गरिनेछ ।
संघीय र प्रदेश सरकारसंग सहकार्य गरेर भेरी अस्पतालको प्रसुती वाड़को पुर्वाधार बढाइनेछ । प्रसुती सेवाका लागि अस्पताल पुगेकी गर्भवती महिलाकालागि प्रतिक्षालय निर्माण गरिनेछ ।
लामखुट्टेबाट हुने रोगलाई नियन्त्रण गर्न अन्तरराष्ट्रीय रुपमा प्रचलित मापदण्डअनुसार लामखुट्टे नियन्त्रणकालागि विशेष अभियान चलाइने ।
भेरी अस्पताललाई पोष्ट ग्राजुएट इन्स्टिट्युट (पीजीआई) अस्पतालको रुपमा बिकसित गर्न प्रदेश र संघीय सरकार संग समन्वय गरिनेछ ।

४.खानेपानी तथा ढल निकास
राप्ती नदीबाट लिफ्ट गरेर प्रशोधन गरी घरघरमा शुद्ध खानेपानीको सेवा दिइनेछ ।
पानीको सुविधा नभएको घरमा ह्याण्ड पम्प वितरण गरिनेछ ।
ढल निकाशको सुबिधा नभएका क्षेत्रमा आबश्यकता र प्राथमिकताका आधारमा ढल निकाशको व्यवस्था मिलाइनेछ । ढाल(क्यिउभ) नमिलेका ढलहरुको ढाल मिलाउन प्राविधिक टोलीद्धारा अध्ययन गरी पुनःनिर्माण गरिनेछ ।

५.फोहोरमैला व्यवस्थापन र सरसफाइ
पाइलट–प्रोजेक्ट अन्तर्गत केहि स्थानहरुबाट स्मार्ट वेष्ट कलेक्सशन सिस्टम लागू गरि ‘फोहर बाट मोहर’ आर्जन गरिनेछ ।
सरसफाइका लागि ठुला सडकहरू सफाइ गर्न मेशिनहरुको प्रबन्ध गरिनेछ । घरघरमा संकलन हुने फोहरलाई सडने र नसडने फोहरको रुपमा छुटाएर छुटटा छुटटै बाल्टिनमा राख्नका लागि नगरबासीहरुलाई प्रोत्साहन गर्नका लागि बिशेष जनचेतना अभियान संचालन गरिनेछ ।
प्लास्टिक रिसाइक्लिङ गर्ने उद्योगलाई विशेष प्रोत्साहन तथा कर छुटको व्यवस्था मिलाइनेछ ।
सहरका सबै ढलको नियमित सरसफाइ गरेर पानी निकासको उचित व्यवस्थापन गरिनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सार्वजनिक शौचालयको व्यवस्था मिलाइनेछ ।

६.ग्रीन सिटी परियोजना
मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लैनको व्यवस्था गरिनेछ ।
घना बस्तीहरुमा घरधनीहरुसँग समन्वय गरी छतहरुलाई जोडेर ग्रिडसँग जोडिएको सोलार सिस्टमको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ ।
अभियानको रुपमा बृक्षारोपण गरिनेछ तथा सम्भव भएको ठाउँमा स–साना बगैचा र पैदल मार्ग बनाइ हरित नगर बनाइनेछ ।
भूमिगत पानीको सतह मेन्टेन गर्नका लागि ग्राउण्ड वाटर रिचार्ज सिस्टम कार्यान्वयन गरिनेछ ।
वैज्ञानिक तरिकाले फोहोर मैलाको व्यवस्थापन गरिनेछ ।
जैविक खेतीलाई प्रवर्धन गरिनेछ ।
विद्युतीय सवारी साधनलाई प्रवर्धन गरिनेछ ।
अघोषित लोड सेडिङको समस्या समाधान गर्नका लागि वृहत् गुरुयोजना बनाई विद्युतलाई नियमित बनाउने पहल गरिनेछ ।

७.सडक तथा यातायात
सडक, फोहरमैला, ढल निकास लगायतका गुनासो सुन्न र गुनासोको सम्बोधन भए पछि त्यसको जानकारी दिनका लागि मोबाइल एपपको व्यवस्था गरिने छ ।
सडक निर्माण हन बाकी वडा र थप भएका नया वडामा सडक लगायतका पूर्वाधार निर्माण गर्नका लागि एकीकृत सहरी विकास परियोजना लागु गर्न केन्द्र र प्रदेश सरकार संग पहल गरिनेछ ।
अत्याधिक भीड़भाड़ हुने ठाउँमा भर्टिकल पार्किङ स्थल निर्माण गरी व्यवस्थित बनाईनेछ । इ रिक्सालाई ब्यबस्थित गरिने छ ।
इ–रिक्सा तथा अन्य विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण गरिनेछ ।
सवारी साधनहरुको ओहोर दोहोर बढी हुने मुख्य चौकहरुमा ट्राफिक लाइट तथा आकाशे पुलको ब्यबस्था मिलाइनेछ ।
रिङ्गरोड निर्माण गरि सबै नगरवासीलाई यातायातको सहज बनाइनेछ ।

८.आवास व्यवस्था
संघ र प्रदेश सरकार सँगका सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रम अघि बढाइनेछ ।
घरको नक्सा पास प्रणालीलाई डिजिटलाईज गरि सरल बनाइनेछ ।
सबै वडाहरुमा सेवाविस्तार र पहुँचका लागि आधुनिक प्रविधिमैत्री घर नम्बरिङ्ग गरिनेछ ।
अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकार संग पहल गरिनेछ ।

९.कृषि तथा पशुपन्क्षी
उप–महानगरपालिकामा भएका किसानलाई जैविक मल उत्पादन गर्न तालिमहरू सञ्चालन गरिनेछ र ल्यान्ड फिल साइटबाट उत्पादित जैविक मल किसानहरूलाई सहज रूपमा उपलब्ध गराइनेछ ।
जैविक खेतीलाई प्रोत्साहन गरिनेछ। त्यसका लागि मल, बिउ र जैविक कीटनाशकहरू उपलब्ध गराइनेछ । साथै जैविक खेतीको प्रमाणीकरण गर्नुपर्ने आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
कृषि अनुदान वास्तविक किसानले पाउने व्यवस्था मिलाइनेछ ।
सम्भावना भएको ठाउँमा सिक्टा सिँचाई परियोजना मार्फत सिँचाईको व्यवस्था मिलाइने छ । अन्य क्षेत्रमा भूमिगत सिँचाईको व्यवस्था मिलाउन आवश्यकता अनुसार डीप बोरिङ मार्फत सिँचाई गरिनेछ ।
कौशी खेती, बैमौसमी तरकारी र च्याउ खेतीलाई प्रोत्साहन गरिने छ । कषिका पकेटहरू सम्भाव्यता (माटो परीक्षण द्वारा) को आधारमा विकास गरि यांत्रिक कृषि प्रणालीको व्यवस्था गरिनेछ ।
अनुदानमा आधारित पावर टिलर, थ्रेशर लगायतका कृषि यंत्र उपलब्ध गराई व्यावसायिक कृषि विकास गरिनेछ ।
मौसमी तथा बेमौसमी तरकारी, फलफूल, च्याउ र कौसी खेती मा जोड़ दिइनेछ ।
ग्रामीण क्षेत्र का साना किसानका लागि उन्नत जातको बोएर बोका र स्थानीय जातका पाठी छनौट गरि व्यावसायिक बाख्रापालन द्वारा गाउँ गाउँमा स्वरोजगार सिर्जना गरिनेछ ।
बढ्दो दूधको मागलाई अपूर्ति गर्न व्यावसायिक गाई तथा भैसी पालन लाई विकास गर्दै ग्रामीण जीवनलाई सुदृढ गरिनेछ ।
कृषि तथा पशुजन्य उत्पादन बाजारीकरण लाई विशेष प्राथमिकता दिंदै ताजा तरकारी, दूध र मासूको उपलब्धताको लागि कृषि हाटबजार सम्भाव्यताको आधारमा विकास गरि उत्पादन कर्ता र उपभोक्ता दुवैको हितमा काम गरिनेछ ।
व्यस्थित डेरी उद्योग, डेरी पसल, मासु पसल र वधशालाको विकास गरिनेछ ।

१०.पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धन
प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि, तथा मनोरञ्जन पर्यटनलाई प्रबर्द्धन गरिनेछ ।
भई रहेका ताल तलैया ( कान्ति ताल, रानी तलाउ, वाटरपार्क लगायत अन्य), बगैंचा तथा पार्क हरूको सौंदर्याकरण, विकास र व्यवस्थापन गरिनेछ ।
होटल, रेष्टुरेन्ट, होम स्टेको प्रवर्द्धन गरिनेछ ।
जमुनाहा नाकाको पर्यटन सुचना केन्द्रलाई प्रभाबकारी बनाइनेछ ।
नेपाली भुमिबाट कैलाश मानसरोबरको दर्शनका लागि नेपालगन्जबाट चार्टर माउन्टेन फ्लाइट संचालनका लागि पर्यटन ब्यबसायीहरुसंग समन्वय गरिनेछ ।
विदेशी तथा स्वदेशी पर्यटकलाई नेपालगन्ज र वरिपरिका पर्यटकीय गन्तव्यको सूचना दिन जानकारीमूलक वेभसाइट बनाइनेछ ।
नेपालगन्ज–भैरहवा तथा नेपालगञ्ज–भरतपुर नियमित उड़ान सञ्चालन गर्न पहल गरिनेछ ।
नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरी नेपालगन्ज–दिल्लीको नियमित उड़ान संचालनका लागि पहल गरिने छ ।

११.महिला समानता र सशक्तीकरण
महिला स्वरोजगारका लागि सहकारी, लघु उद्योगलाई स्थापना गरी महिलाहरूलाई रोजगारीको व्यवस्था गरिनेछ साथै नयाँ उद्योग स्थापना गर्न आवश्यक सहयोग तथा तालिम उपलब्ध गराउनुका साथै ती उद्योगका उत्पादनहरूको सहज बजारीकरण गर्न सहयोग गरिनेछ ।
उप–महानगरपालिकाको कार्यालयका सबै नीति, नियम तथा कार्यक्रम बनाउँदा महिला नेतृत्वको सक्रिय सहभागिता हुने कुराको सुनिश्चित्ता गरिनेछ ।
महिला सशक्तीकरणका लागि काम गरिरहेका विभिन्न गैर सरकारी संस्थाहरूसँग समन्वय गरी विभिन्न परियोजनाहरू लागु गरिनेछ ।
सबै कार्यालयहरुमा महिलामैत्री स्तनपानकक्षको व्यवस्थापन गरिनेछ ।

१२. जेष्ठ नागरिक, बालबालिका, अपाङगता भएका, अशक्त र पछाडि परेका वर्ग
जेष्ठ नागरिक, बालबालिका, अपाङगता भएका, अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षाका लागि पहल गरिनेछ ।
जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत सङ्कलन र स्थानीय रूपमा सक्दो सहयोग गरिनेछ ।
स्थानीय पूर्वाधारलाई अपांगता मैत्री बनाउने, अशक्त व्यक्तिका लागि सहजरूपमा आधारभूत सेवा पुग्ने व्यवस्था मिलाइनेछ ।
दलितका हक सम्बन्धी कार्यक्रमहरू सङ्घ तथा प्रदेशको सहकार्यमा अघि बढाइनेछ ।
बालश्रमको अन्त्य, बालमैत्री स्थानीय शासन तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।
सडक बालबालिका मुक्त बनाउन अनाथालय, सेवाकेन्द्र तथा आश्रम निर्माण गर्ने गैर सरकारी संघ संस्था संग सहकार्य गरी अनाथ, असहाय, अशक्त तथा मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनस्र्थापना र व्यवस्थापन गरिनेछ ।

१३.गरिबी निवारण तथा रोजगारी सिर्जना
विपन्न वा निरपेक्ष गरिब परिवारको पहिचान गर्न तथ्याङ्क सङ्कलन गरी गरिब तथा विपन्नलाई सिपमूलक तालिम तथा उत्पदनका साधन उपलब्ध गराई काम, रोजगारी र आयआर्जनको अवसर प्रदान गरिनेछ ।
वैदेशिक रोजगारीमा जाने इच्छुक युवा लागि न्यूनतम एउटा सिपमूलक तालिम दिने ब्यबस्था मिलाइने छ र विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग गर्नेसम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
घसियारा, चिडिमार, बादी, बाल्मीकी , कुचबन्धिया लगायत अन्य दलित समुदायको आर्थिक उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । गरिब तथा बिपन्न बस्तीहरुमा शौचालयको व्यवस्था मिलाइनेछ ।

१४.वन तथा वातावरण एवं विपद् जोखिम व्यवस्थापन
वृक्षारोपण र हरियाली प्रबर्द्धनका लागि बिशेष अभियान संचालन गरिनेछ । एक घर कम्तीमा एक बिरुवा अभियानलाई प्रोत्साहन गरिनेछ ।
जडिबुटी एवं वन पैदावर उत्पादन, प्रशोधन तथा बजारीकरणलाई प्रोत्साहन गरिनेछ ।

१५.कला, संस्कृति तथा पुरातात्विक सम्पदा
स्थानीय सांस्कृतिक मेला, पर्व एवं जात्राहरूको सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
मठ मन्दिर, गुम्बा, धर्मशाला, मुसाफिर खाना, मस्जिद, कर्बला, चर्च जस्ता सम्पदाको विकास तथा संरक्षण गरिनेछ ।
बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गरी गुरुयोजना अनुसार मन्दिरको पर्किङ, पार्क तथा तलाउको उचित व्यवस्थापन गरिने छ । जुँगेश्वर महादेवको जीर्ण भईरहेको पुल तथा मन्दिरको मरम्मत संभार गरिनेछ । मन्दिरको तालको पानी स्वच्छ र निर्मल बनाउन अर्गानिक विधिहरुको प्रयोग गरिनेछ। साथै तालको सौन्दर्यकरण गरिनेछ ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण र संबर्धन गरिनेछ ।

१६.युवा तथा खेलकूद
युवाहरूको शारीरिक तथा मानसिक विकासकालागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
रोजगारीको अवसर सिर्जना गर्न लगानी–मैत्री वातावरण बनाइनेछ । स्र्टाट अप कल्चरलाई प्रोत्साहन गरिनेछ । स्थानीय युवा हरुलाई स्मार्ट सिटीको लागि चाहिने साफ्टवेयर, ईन्टरनेट अफ थिंग्स लगायतका सामाग्रीको निर्माणलाई प्रोत्साहित गरिनेछ ।
नयाँ ब्यापार व्यवसाय सुरु गर्न चाहने युवाहरुलाई बिजनेश आइडिया सम्बन्धी सुरुवाती पुँजीको व्यवस्थाका लागि बैंक तथा अन्य वित्तिय संस्थासँग समन्वय गरिने छ ।
छुवाछूत, छाउपडी, दाइजो, जातीय तथा लैङ्गिक भेदभाव,अन्धविश्वास, कुसंस्कार जस्ता सामाजिक कुरीति हटाउँदै समाजको रूपान्तरणमा युवाहरूको भूमिका बढाइनेछ ।
युवाहरूको राजनीतिक संलग्नता र नेतृत्व क्षमता विकास गर्दै सामाजिक, आर्थिक र राजनीतिक माध्यमबाट स्थानीय विकास निर्माणमा युवा परिचालनलाई प्रोत्साहन गरिनेछ ।
विपद्, महामारी, विकास निर्माण कार्य, सरसफाइ तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिमा युवाहरुलाई स्वयं सेवकको रुपमा परिचालन गरिनेछ ।

१७.संस्थागत संरचना, सुशासन र जनशक्ति व्यवस्थापन
सुशासनको कसीमा पालिका, वडा कार्यालय र जनप्रतिनिधिहरू खरो उत्रने छौ । पारदर्शिता, जनसहभागिता, योजनाबद्ध कार्यप्रणाली, उत्तरदायीपना, जवाफदेहिता, समानता र समावेशिता, प्रभावकारी कार्य सम्पादन गरिनेछ ।
डिजिटल कारोबारलाई प्रोत्साहित गरि भ्रष्टाचारलाई नियन्त्रण गरिनेछ ।
१८.सूचना तथा सञ्चार प्रणाली
एफ एम रेडियो, पत्रपत्रिका, टेलिभिजन एवं सामाजिक सञ्जालको सञ्चालन तथा अधिकतम प्रयोग मार्फत जनचेतना, कृषि सेवा, फोहर मैला ब्यबस्थापन, मौसमको पूर्वानुमान, यातायात तथा ट्राफिक सूचना, बजार मूल्य, विपद् तथा महामारी विरुद्ध सचेतना अभिबृद्धि गरिनेछ ।
सूचनाको हकको प्रत्याभूति हुनेगरी सूचना अधिकारी र प्रवक्ताको व्यवस्था गरिनेछ ।
उप–महानगरपालिकाको सेवा प्रदान गर्न तथा उप–महानगरमा गुनासो राख्न वेभसाइट तथा मोबाइल एप बनाइनेछ ।
१९.अन्य
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नकालागि लगानीकर्तालाई विशेष प्रोत्साहन र चाहिने सहयोग उपलब्ध गराइनेछ ।
सुक्खा बन्दरगाहको सुस्त गतिको  कामलाई अविलम्ब सम्पन्न गरी ब्रोडगैज रेल्वे लाइनसमेत जोडेर पश्चिम नेपाल कै व्यवसायिक हब
बनाइने छ ।
शमशानघाटमा विद्युतीय शवदाह गृहको व्यवस्था गरिनेछ ।
स्थानीय विपद् व्यवस्थापन योजना बनाई लागू गरिनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकालाई आवश्यक मापदण्ड पूरागरि महानगरपालिका बनाउने यात्राको लागि पूर्वाधार तैयार गरिनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकालाई करदातामैत्री बनाइनेछ ।

Nabintech