७ बैशाख २०८१, शुक्रबार
जनताको शासक होइन, सेवक भएर काम गर्नेछु : मेयर पदका उम्मेद्वार भुषाल

  • टाइम्स संवाददाता

  • १९ बैशाख २०७९, सोमबार १०:४९

कोहलपुर/  नेकपा एमाले कोहलपुरले घरदैलो अभियानलाई तीव्र पारेको छ । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिएसंगै घरदैलो अभियानलाई तीव्र बनाएको हो । सोही क्रममा सोमबार वडा नं.१२ मा घरदैलो तथा उम्मेद्वार परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार खिल प्रसाद भुषालले कोहलपुर चप्परगौडी–खड्कवार हुँदै सल्यान घुइयाबारी जोड्ने सडक प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । उक्त सडक कर्णाली प्रदेश जोड्ने छोटो मार्गका रुपमा रहेको विस्तार भएपछि यहाँको कृषि र पर्यटन क्षेत्रमा विषेश टेवा पुग्ने उनको भनाई थियो । त्यसका साथै मध्यवर्ती क्षेत्रका जनतालाई निकुञ्जबाट आउने वन्यजन्तुले दुख दिने समस्या रहेकोले त्यसको समाधान गरी निकुञ्ज अभिशाप नभई बरदान सावित हुने योजना बनाउने समेत उनको भनाई थियो । साथै अहिलेको निर्वाचनमा आफू निर्वाचित भएमा शासक नभई जनताको सेवक भएर काम गर्ने विचार व्यक्त गरे ।

यस्तै उपमेयर पदकी उम्मेद्वार अस्मिता थारुले आफु सामान्य किसान परिवारमा जन्मिएकोले कृषी क्षेत्रको विकासका लागि विशेष योजनाहरु ल्याउने बताइन् । त्यसैगरी, महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सोझै टोलहरुको नेतृत्वमा कार्यक्रम संचालन गर्नुका साथै महिलाहरुको हक अधिकार पुर्ण रुपमा कार्यान्वयन गर्न विज्ञहरुसंग छलफल गरी योजनाबद्ध रुपमा काम गर्ने समेत उनको धारणा थियो । कार्यक्रममा बोल्दै वडा नं.१२ का वडा अध्यक्ष पदका उम्मेद्वार टेक बहादुर शाहीले वडाबासीहरुमा समानता र सद्भावको व्यवहार, जेष्ठ नागरिकहरुको सम्मान गर्ने वातावरण बनाउने बताए । साथै उनले युवाहरुको विकास, बालबालिका मैत्री वातावरण बनाउने समेत प्रतिबद्ध जनाए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, पुर्व कृषि मन्त्री आरती पौडेल, संविधान सभाका सदस्य देवराज भार र बाँके ईञ्चार्ज सुर्य ढकाल लगायतले अब नेकपा एमाले नगर कमिटिको नीति नियम बमोजिम कोहलपुर नगर सरकार संचालन गर्ने उद्घोष गरे ।

Nabintech