१४ बैशाख २०८१, शुक्रबार
तस्करको नयाँ काइदा : कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०७९, सोमबार १४:५१

काठमाडौं –  साढे ३३ किलो सुनकाण्डको अनुसन्धानबाट सुरु भएको छानबिनले तस्करको र्‍याकेट भत्काएपछि अहिले संगठित रुपमा ठूलो परिणाममा सुन भित्रिएको भेटिएको छैन । तर नयाँ–नयाँ शैलीमा सुन ल्याउने प्रयास चाहिँ भइरहेको प्रहरीले फेला पारेको छ ।

हालै उपत्यका अपराध अनुसन्धान कार्यालयले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराका प्रकाश घलान, धनुषाका बरुनभक्त माथेमा, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् ।  कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  बसन्तबहादुर कुँवरका अनुसार उनीहरुको साथबाट ८८६ ग्राम सुन बरामद भएको छ । ‘कपडाभित्र लुकाएर राखेको अवस्थामा सुन निकालेका हौं’ कुँवरले अनलाइनखबरसँग भने ।

यसरी समातियो सुन

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतलाई एउटा सूचना आयो, ‘शनिबार दुबईबाट आउँदै गरेको नेपाल एयरलाइन्सको आरए २३० जहाजमा दुईजना व्यक्तिले कपडा लुकाएर सुन ल्याउँदैछन् ।’ त्यही आधारमा कार्यालयका एक जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० नेतृत्वको टोली विमानस्थलमा खटियो ।

सूचना प्राप्त भएको नम्बरको विमानमा सहभागीमध्ये शंकास्पद सुरशेबहादुर शाही र सन्दीप चन्द ठकुरीलाई केरकार गर्दा सुरुमा केही शंकास्पद देखिएन । तर कपडा छाम्दा गह्रुँगो थियो ।

‘त्यसपछि शंका लागि हाल्यो, खोल्न लगाएर च्यात्दा कपडाको बीचमा सुन राखेको पाइयो’ कार्यालयका एसपी कृष्ण कोइराला पनि भन्छन्, ‘त्यसपछि सबै कपडा लगेर सुन निकालिएको थियो ।’

बरामद सुन ।
प्रहरीका अनुसार उनीहरुको सर्ट, पाइन्ट, अन्डरवेयर, भेस्ट, सर्ट र पाइन्टमा फल्स बटम बनाएर सुन ल्याइएको थियो । उनीहरुलाई दुबईमा भीम लाहुरे नामक व्यक्तिले काठमाडौंमा सुन पठाउन लगाएको खुलेको कोइराला बताउँछन् । उनको भनाइमा नेपाल आएपछि दुई जनालाई निर्मला घलानलाई सम्पर्क गर्न भनिएको थियो ।

‘उनीहरुलाई लिन आएका बेला घलान विमानस्थलमै पक्राउ परिन्’ एसएसपी कुँवर भन्छन्, ‘उनलाई साधेपुछ गर्दा उनलाई दुबईबाट सन्देश तामाङ नमक व्यक्तिले म्यासेन्जरमा फोन गरेर आवश्यक निर्देशन दिएको पाइएको छ ।’

त्यसअनुसार उनले कपडाहरुलाई दुई भाग लगाएर दुई वटा प्याकेट बनाउने काम गर्ने गरेको कुँवरको भनाइ छ । त्यसपछि कपडा लिएर आउेनलाई निश्चित रकम दिएर पठाउन भनेको खुलेको छ ।

नोटको आधारमा हुन्थ्यो पहिचान

सुन भएको कपडा दिनका लागि पाँच रुपैयाँको नोटको नम्बरलाई प्रयोग गरिएको खुलेको छ । एसएसपी कुँवरका अनुसार घलानलाई कपडाको प्याकेज पाँच रुपैयाँको णर४७ ०१७‘। र थर९४ १५७५‘ नम्बरको नोट लिएर आउनेलाई दिनु भनिएको थियो ।  त्यही अनुसार प्याकेज लिन पाँच रुपैयाँको नोटसहित आएका बोक्साङ ग्याल्जेन र बरुण भक्त माथेमालाई प्रहरीले नोटसहित पक्राउ गरेको छ ।

माथेमालाई समान दिन युवराज भुसालले निर्देशन दिने गरेको खुलेको प्रहरी बताउँछ । माथेमाले सुन भएको कपडा ल्याएपछि अर्को पाँच रुपैयाँको नोटको आधारमा उक्त प्याकेज अमन राजपुतलाई दिने योजना रहेको पाइएको प्रहरी बताउँछ ।

यसरी नोट लिएर आएका राजपुतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Nabintech