• २३ मंसिर २०७९, शुक्रबार
देश जोगाउने प्रधान सेनापतिलाई अब कसले बचाउने ?

  • प्रतीक प्रधान

  • २९ जेष्ठ २०७९, आईतवार २१:१९

नेपालको इतिहासमा मुख्तियार भिमसेन थापापछि सबैभन्दा विवादास्पद र चर्चित नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद कटवाल नै हुन् भन्दा अतिशयोक्ति नहोला । कटवाल त्यस्ता सेना प्रमुख हुन् जसले कुनैबेला लिएको अडानका कारण देशको राजनीतिले गलत मोड लिन पाएन । उनलाई सेना प्रमुखबाट बर्खास्त गर्ने त्यसबेलाका प्रधानमन्त्री प्रचण्डको निर्णय लागू भएको भए नेपाल अहिले लोकतान्त्रिक परिपाटीको व्यवस्थामा हिँडदैन थियो अथवा देश अर्को चरणको अस्थिरतामा फस्ने पक्का थियो ।

२०६६ साल वैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा बोलाएर उनलाई सेना प्रमुखबाट बर्खास्त गरेको पत्र बुझाए । प्रथम संविधान सभाको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रको त्यसबेला राप ताप नै बेग्लै थियो । उनीहरू सेनालाई आफ्नै तरिकाले ‘लोकतान्त्रिकरण’ गर्न चाहन्थे त्यसैले कटवालजस्तो उनीहरूको आदेश नमान्ने सेनापति चाहँदैनथे । तर कटवाल अलिकति पनि डगेनन् । उनले प्रधानमन्त्रीसँग भने, “तपाईंको आदेश भोलिदेखि लागुहुन्छ, आजसम्म म नै हो नेपाली सेनाको सेनापति ।”

प्रधानमन्त्रीसँग आँखा जुधाएर उनी सीधै नेपाली सेनाको प्रधान कार्यालय भद्रकाली आए र सेनाको कमाण्ड सम्हाले । दिनभरी अनेक राजनीतिक खेल भए । मध्यरात पछि कटवाललाई बुझाइएको अवकाश पत्र कार्यान्वयन हुन्थ्यो । अर्थात्, नेपाली सेनामा ठूलो रक्तपात हुने अवस्था आइसकेको थियो । तर, करिब मध्यरातमा राष्ट्रपति रामवरण यादवले संवैधानिक अधिकारको लक्ष्मण रेखाको मर्यादामा प्रश्न उठ्ने निर्णय गर्दै प्रधानमन्त्रीको आदेश खारेज गरिदिए । कटवाललाई हटाउन खोज्ने प्रधानमन्त्री प्रचण्डले भोलिपल्ट आफैँले राजीनामा दिए । यसबीच करिब १३ वर्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबेलाको सेनापति सम्बन्धि निर्णय गलत भएको बारम्बार स्वीकार गरिसकेका छन् ।

शनिबार बिहान करिब साढे नौ बजे खुमलटारस्थित पूर्व प्रधानसेनापति कटवालको निवासमा कार्टुनिस्ट राजेश केसीका साथ उनलाई भेट्न यो पत्रकार पुग्दा बाघजस्ता कटवाल एकदम सुस्त, कमजोर र मधुरो देखिएका थिए । घरबाहिरको डबलीमा पहिले भेट्न जाँदा उनी बसेको स्थानबाटै ठूलो स्वरमा स्वागत गर्थे । तर आज त्यो स्वर थिएन, त्यो उत्साह थिएन । पहिला–पहिलाझैं अलिकति व्यंग्यात्मक हुँदै ‘हाम्रो कडा सेनापतिलाई के ले ढाल्यो ?’ भनेर सोध्न ठिक्क परेको प्रश्न उनको अवस्था देखेर घाँटीमानै आएर अड्कियो ।

सेनाले कवाज खेल्दा लगाउनेजस्तो निलो रङको ट्रयाकसुट र नेपाली सेनाको कुनै खेलकूद कार्यक्रमको लोगो भएको क्याप लगाएका कटवालको घाँटीमा ठूलो ब्यान्डेज थियो । हातमा नशा नभेटिएर घाँटीको नशा खोजेर उनको डायलाइसिस गरेझैं लाग्यो, तर सोधिन । उनको बोलि यति मधुरो भएको थियो कि आवाज सुन्न नजिकै पुग्नुपर्थ्यो । सुस्त स्वरमा विस्तारै भन्दैथिए, “हिजो अस्पताल गएर आएको मिर्गौलाको डायलायसिस गरेको फेरि के–के समस्या भएर अपरेशन थिएटरसम्मै लगेर उपचार गर्नुपर्‍यो । बिरामी भएपछि अनेक व्यक्तिले अनेक सल्लाह दिन्छन्, कस्को मान्नु कस्को नमान्नु ?  डाक्टरको उपचार पनि फरक फरक हुने ।”

सानो हत्केला र सानै औला भएका रुकमाङ्गद कटवालसँग जो कोही हात मिलाउन पनि हच्किन्थे, ठूला सेनापति भएर मात्र होइन उनले हात मिलाउँदा बेस्सरी समाउने हुनाले । त्यही सानो हातले थालभरी दाल, भात, तरकारी, अचार, मासु सबै एकै ठाउँमा मज्जाले मुछेर खपाखप खाने उनको बच्चै देखिको बानी प्रधान सेनापति हुँदा पनि गएको थिएन । तर, अस्तिसम्मका हट्टाकट्टा ‘चिफ साब’ अहिले केवल एक अशक्त बिरामी भएका छन् । भेट्न आउनेहरूसँग हात मिलाउने कुरै भएन, र अब खानेकुरामा पनि त्यो रुची र त्यो खुवाई रहेन भन्ने कुरा उनको कमजोर भएको शरीरले देखाउँदै थियो । तर, डायलाइसिसको प्रभाव नगएको हुनाले त्यति कमजोर भएका हुनसक्छन् भन्ने अनुमान लगाउन सकिन्थ्यो ।

तर, उनलाई आशा छ, सबै व्यक्तिमा दुई–दुईवटा हुने मिर्गौला दिने कोही न कोही दाता अवश्य भेटिनेछ । उनको सन्दर्भमा भने केवल एउटै मात्र मिर्गौलाले काम गरेको थियो, बच्चैदेखि । उनको दोस्रो मिर्गौला सुकेर गएको थियो, धेरै पहिले नै । दुईवटा मिर्गौला भएका सबैले दिन्छु भनेर पनि मिल्दैन । जसले दिन्छु भनेको थियो उसको रगत समूह मिलेन । अर्को एकजना बहुत मायागर्ने नातेदार आए, म दिन्छु किडनी भने । तर, घर पुगेपछि श्रीमतीले मानिनन् बरु आफ्नै किडनी दिन्छु भनिन् भन्ने कुरा आयो । पछि ति श्रीमतीलाई पनि आफ्ना नातेदारले दिन हुँदैन भनेछन् । अर्का एक जोडी पनि भेट्न आए र हामी दुईजना दम्पतीमध्ये एकजनाले दिन्छौं भनेर गए । त्यसपछि सम्पर्कबाट हराए । “आफ्नो शरीरको एक अंग कसैले पनि दान दिनुपर्छ भन्ने छैन, त्यसैले केवल अगाडि मन राख्नका लागि दिन्छु भन्नु जरुरी छैन,” कटवालले मनको कुरा खोले ।
कुनै नातेदारले दिएको खण्डमा र म्याचिङ भएमा नेपालमानै मिर्गौला ट्रान्सप्लान्ट गर्ने उनको चाहना छ । “धेरैले भारतमा गएर उपचार गर्नुपर्छ भन्छन् तर मलाई भने नेपालमानै उपचार गर्न पाए हुने भन्ने सोच छ,” उनले भने ।

तर, धेरैबेर कुरा गर्न सकेनन् ‘जरसाब’ले । भेट्न आउने अरु पाहुनालाई हालखबर सोधे, आएकोमा धन्यवाद पनि भने । अनि हामीसँगको कुरालाई पनि बिट मार्दै उनले भने, “अब आराम गर्न जान्छु ।”
उनलाई उठ्न गाह्रो होला भनेर हात दिन खोज्यौं हामीले तर उनले सहयोग लिन मानेनन् । बसेको कुर्सीबाट अगाडिको टेबलमा दुवैहातले टेक्दै धेरै मुश्किलले उठे । अनि डबलीबाट बिस्तारै चार–पाँच सिंढी ओर्लिए छेउको रेलिङको सहारामा । तल पुगेपछि बिना कुनै सहारा घरभित्र छिर्ने सिंढीसम्म पुग्नुपर्ने थियो । हामीले न त हात समाउन सक्यौं न छाडेर जान सक्यौं । हेरिरह्यौं यी ७३ वर्षीय जनरलको आत्मविश्वास । उनी केही नसमाती आठ–दश कदम करिब करिब कुदे । अर्को तर्फको रेलिङ समातेपछि हामीलाई पनि धेरै राहत भयो । जरसाबले पछाडि नफर्की ल अहिलेलाई बिदा है भने ।

मलाई लाग्यो जुन व्यक्ति हिजो मात्र डायलाईसिस गरेर फर्केका थिए, जसलाई रातभरी बान्ता आएको थियो ति व्यक्ति हामीसँग यतिबेर गफ गरेर आफ्नै सामथ्र्यमा हिंडडुल गर्दैछन् भने तिनी कमजोर हुन कि अत्यन्त सबल, अत्यन्त आत्मविश्वासी रु

जसरी २०६६ साल वैशाख २० गते अन्तिम समयमा आएर उनको सेनापतिको ओज र जिम्मेवारी जोगिएको थियो त्यसैगरी अहिले पनि उनको रक्षार्थ कोही अवश्य आउनेछ, कसैले अवश्य उनको जीवन बचाउनेछ । अझै धेरै लामो जिउनु छ यी देशभक्त, जनताका प्रिय प्रधान सेनापतिलाई । यसपल्ट नभए केही भएन, अर्कोपल्ट फेरि छेड–छाड, भनाभन र एक अर्काको चित्त नबुझेको कुरामा विवाद गर्ने आशा र विश्वासका साथ राजेश र म फर्कियौँ ।

Nabintech