१४ बैशाख २०८१, शुक्रबार
जो चोर उसकै ठुलो स्वर

  • डम्बर बिकेल

  • ५ असार २०७९, आईतवार ०९:४२

जो चोर उसकै ठुलो स्वर भनेर मलाई पो आरोप लाउँछौ तिमी । तिमीलाई के को टेन्सन मैले अवार्ड पाउँदा ? पाएँ त मैले मेरो ज्ञान,बुद्धि र विवेकले पाएँ । तिम्रो किन टाउको दुःखाइ ? मेरो क्षमताको सही मूल्याङ्कन भयो, नेपाली साहित्यमा मेरो योगदानको उच्च मूल्याङ्कन गरेर मलाई अवार्ड दिइयो, तिमीलाई किन यत्रो टेन्सन ? सक्छौ भने तिमी पनि लेख न ।

हो, मैले कविता लेखेर चर्चा पाएको छु, प्रसिद्धि कमाएको छु । जताततै मेरै कविताहरुकै वा ! वाही ! छ । मेरा कविताहरू उत्कृष्ट भएकाले नै मैले अवार्ड पाएको हुँ । मेरा सबै कविताहरू पुराना अग्रज चर्चित कविहरुका कविताहरुको भावसँग मिल्छ अनि शब्दहरू पनि प्रायः सबै हुबहु छन् भन्ने तिम्रो आरोप मलाई स्वीकार्य छैन । यी सबै मेरा मौलिक रचनाहरू हुन् । मेरो मस्तिष्कको कमाल हो । मेरो ज्ञान भण्डारको नतिजा हो । मेरो क्षमताको उपज हो ।

थाहा छ सबैलाई, मेरा गीतहरू चर्चित छन्, मेरा गजलहरू हिट छन् । साराको जिब्रोमा झुण्डिएका छन् । यस्तै राम्रा गीत गजलहरू लेखेर नै म लोकप्रिय बनेको हुँ । त्यसैले, मैले गीत गजल लेखनमा पनि अवार्ड पाएँ, तिमीलाई के को टेन्सन ? मेरा गीत गजलहरू पुराना अग्रज गीतकार तथा गजलकारका रचनासँग ठ्याक्कै मिल्छ भन्ने तिम्रो आरोप मलाई स्वीकार्य छैन । मेरा गीत गजलका भावहरू र प्रायः शब्दहरू पुराना स्रष्टाका रचनासँग हुबहु मिल्छ भन्न तिमीले कसरी आँट गर्यौ ? यी मेरा आफ्ना सिर्जना हुन् । आफ्ना रचना हुन् । मेरो आफ्नो सामर्थ्य हो । मेरो आफ्नो ऊर्जा हो ।

कसलाई थाहा छैन र ? मेरा कथाहरू कति लोकप्रिय छन् भनेर । यत्र तत्र, सर्वत्र मेरै कथाहरुको चर्चा हुन्छ । मेरै कथाहरू पढेर धेरै पाठकहरुले आफ्नो जीवन परिवर्तन गरेका छन् । कसैको जीवनमा सकारात्मक परिवर्तन गर्न सक्ने कथा लेख्न सक्नुमा म आफूलाई गर्व गर्दछु । यसरी उच्च कोटीका कथाहरू लेखेको कारणले नै मैले अवार्ड पाएँ । तिमीलाई किन टेन्सन ? तिम्रो आरोप मलाई स्वीकार्य छैन कि मेरा कथाहरू पुराना अग्रज स्रष्टाहरुका कथाहरुसँग ठ्याक्कै मिल्छ, भाव मिल्छ,शब्दहरू मिल्छन्, लेखनशैली मिल्छ । यो तिम्रो आरोपको म घोर बिरोध गर्दछु । मेरा सारा कथाहरू मेरा मौलिक रचना हुन् । मेरो कल्पनाको उपज हो । मेरो विचारको उपज हो । मेरो ज्ञानको उपज हो ।

हे, तिमीलाई पनि थाहा छँदै छ, मेरा उपन्यासहरू बजारमा किन्नलाई पाठकहरू लुछाचुँडी गर्छन् । कतिपय पाठकहरू त दोब्बर मूल्य तिरेर पनि किन्ने गर्छन् । ती मेरा उपन्यासको चर्चा देखेर सारा उपन्यासकारहरू जिब्रो टोक्छन् । आरिसले जल्छन् । ती जल्नेहरू मध्ये तिमी पनि एक हौ । त्यही डाहाले त भन्छौ मेरा उपन्यासहरू पुराना अग्रज उपन्यासकारहरुका उपन्याससँग ठ्याक्कै मिल्छ भनेर । पुराना स्रष्टाका उपन्यासको कथावस्तु, भाषाशैली, भाव जस्ताको तस्तै छ भन्ने तिम्रो आरोप निराधार छ । यो तिम्रो आरोप आफूतिरै फिर्ता गर । तिमीले मेरा उपन्यासहरुको दम अँझै बुझ्न सकेका छैनौ । यी मेरा उपन्यासहरू मेरा मौलिक सिर्जना हुन् । मेरो जीवनको भोगाइको उपज हो । मेरो कल्पनाको उपज हो । मेरो मन र मस्तिष्कको सिर्जनात्मक अभिव्यक्ति हो ।

अब, मेरा नाटकहरुको सन्दर्भमा कुरा गर्छु । मेरा नाकटहरुले त्यसै अवार्ड पाएका होइनन् नि । मेरा नाटकहरू दमदार छन् । मेरा नाटकहरू लोकप्रिय भएकै कारणले धेरै ठाउँमा मञ्चन भएका छन् । मेरा नाटक पढेर सबै छक्क पर्छन् । मेरा नाटक हेरेर सबै मख्ख पर्छन् । निर्देशकहरू पनि मेरै नाटक निर्देशन गर्न अघि सर्छन् । कलाकारहरू पनि मेरै नाटकमा अभिनय गर्न पाउँदा खुसी हुन्छन् । यति चर्चित मेरा नाटकहरुमा भने तिम्रो किन आपत्ति ? किन आरोप लाउँछौ तिमी मेरा नाटकहरुमाथि ? अग्रज नाटककारहरुका नाटकहरुसँग पूर्ण रुपमा मेल खान्छ रे मेरा नाटकहरु, मेरा नाटकका कथावस्तु,भाषाशैली, सबै मिल्छ पुराना स्रष्टासँग भन्ने तिम्रो आरोप घटिया आरोप हो । तिम्रो आरोपमा कुनै सत्यता छैन । तिम्रो आरोप स्वीकार छैन मलाई । मेरा नाटकहरू मेरो खुबीको नतिजा हो । मेरो सिर्जनात्मक क्षमताको उपज हो । मेरो विवेकको कमाल हो ।

निबन्धको त झन कुरै छाडौँ । मेरा निबन्धहरू यति चर्चित भएकी कि त्यति चर्चित अहिलेसम्म कसैको निबन्ध पनि हुन सकेका छैनन् । पाठकहरुले रुचाएका आधारमा पनि उच्च मूल्याङ्कन गरेर मेरा निबन्धलाई अवार्ड दिइएको हो । मेरा निबन्धहरू पढेर सारा पाठकहरू यस्तै निबन्ध लेख्न पाए हुन्थ्यो भन्ने सोच्छन् रे । अनि मेरै निबन्धको नक्कल गरी लेख्ने कोसिस गर्छन् रे । वा ! मेरो सफलता । यही सफलता देखेर त हो नि तिमीले मलाई आरोप लगाएको । मेरा सारा निबन्धहरू अग्रज पुुराना निबन्धकारहरुको निबन्धहरुसँग जस्ताको तस्तै मिल्छ भन्ने तिम्रो यो आरोप मलाई ठिक लागेको छैन । तिम्रो आरोप मलाई स्वीकार छैन । मेरा निबन्धहरू मेरा आफ्ना मौलिक सिर्जना हुन् । मेरो दिमागको कमाल हो । मेरो कलमको कमाल हो । मेरो ज्ञानको कमाल हो ।

मैले अवार्ड पाउँदा तिमीलाई किन ज्वरो आउनु ? सक्छौ भने तिमी पनि लेख न । कहिले कविता लेख । कहिले गीत गजल लेख । कहिले कथा लेख । कहिले उपन्यास लेख । कहिले नाटक लेख । कहिले निबन्ध लेख । सक्छौ भने संसारमै नभएको कुनै नयाँ विधा लेख । आफू लेख, अरुलाई आरोप नलगाऊ ।

तिम्रो आरोप मैले पुराना अग्रज कविहरुका कविता चोरेर लेखेँ भन्ने हैन ? तिमी गलत छौ । वास्तवमा अहिले मैले लेखेका कविताहरू चाहिँ पुराना स्रष्टाले चोरेर लेखेका रहेछन् । अहिलेका मेरा कविताहरुबाट चोरेर लक्ष्मीप्रसाद देवकोटाले कविता लेखेका रहेछन् । अहिलेका मेरो कविताहरू चोरेर भानुभक्त आचार्यले कविताहरू लेखेका रहेछन् । मेरै अहिलेका कविताहरू चोरेर लेखनाथ पौडेलले कविताहरू लेखेका रहेछन् । मेरै कविताहरू चोरेर मोतीराम भट्टले कविताहरू लेखेका रहेछन् । सुन्दै जाऊ, तिमी मलाई आरोप लाउँछौ नि म चोर भनेर । सुन, वास्तवमा मेरा अहिलेका गीतहरू चोरेर माधवप्रसाद घिमिरेहरुले गीत लेखेका रहेछन् ।
मेरै अहिलेका गजलहरू चोरेर मोतीराम भट्टले गजलहरू लेखेका रहेछन् । अँझै सुन्दै जाऊ, तिमी भन्छौ नि, मैले कथाहरू चोरेर लेखेँ भनेर, वास्तवमा अहिले मैले लेखेका कथाहरू नै पहिले गुरुप्रसाद मैनालीले चोरेर लेखेका रहेछन् । मैले अहिले लेखेका कथाहरू नै पहिले विश्वेश्वरप्रसाद कोइरालाले चोरेर लेखेका रहेछन् । मैले अहिले लेखेका कथाहरू नै भवानी भिक्षुले चोरेर लेखेका रहेछन् । मेरा अहिलेका कथाहरू नै इन्द्रबहादुर राईले चोरेर लेखेका रहेछन् । अँझै भन्दै जान्छु, सुन । उपन्यासको कुरा गर्दा पनि अहिले मैले लेखेका उपन्यासहरू नै पहिले रुद्रराज पाण्डेले चोरेर लेखेका रहेछन् । अहिलेका मेरा उपन्यासहरू नै विश्वेश्वरप्रसाद कोइरालाले चोरेर लेखेका रहेछन् । मेरै उपन्यासहरू नै चोरेर लैनसिंह बाङ्देलले लेखेका रहेछन् । अनि मेरै उपन्यास चोरेर डायमनशमशेर राणाले र इन्द्रबहादुर राईले पनि मेरै उपन्यास चोरेर लेखेका रहेछन् ।

सुन्दै जाऊ अँझै, मलाई चोर भन्छौ नि तिमी ।

नाटकहरू पनि उही हो, अहिले मैले लेखेका नाटकहरू नै बालकृष्ण समले चोरेर लेखेका रहेछन् । भीमनिधि तिवारीले पनि मेरै अहिलेका नाटकहरू चोरेर लेखेका रहेछन् । अनि गोपालप्रसाद रिमालले पनि मेरै अहिलेकै नाटकहरू चोरेर लेखेका रहेछन् । अनि निबन्धको कुरा सुन । मैले लेखेका अहिलेका मेरा चर्चित निबन्धहरू चोरेरै पहिले लक्ष्मीप्रसाद देवकोटाले निबन्धहरू लेखेका रहेछन् । शङ्कर लामिछानेको त झन कुरै छाडौँ, सम्पूर्ण मेरा अहिलेका निबन्धहरू चोरी गरी लेखेका रहेछन् । हाँस्यव्यङ्ग्य मेरा चर्चित अहिलेका निबन्धहरू पहिले नै चोरेर भैरव अर्यालले लेखेका हुन् ।

ल, भन त युट्युबर भाइ,
सिर्जना चोर्ने चोर को रहेछ ?
रचना चोर्ने चोर को रहेछ ?
चोर म हुँ कि उनीहरू ?
अनि मैले अवार्ड पाउँदा किन तिम्रो टाउको दुख्ने ?

किन तिमीलाई टेन्सन ? सक्छौ भने तिमी पनि लेख । तर अरुले जस्तो मेरो चोरेर नलेख । मेरो जस्तै मौलिक लेख । तिम्रा ती सारा आरोपहरू मलाई स्वीकार्य छैनन् । फिर्ता लैजाऊ तिम्रा आरोपहरू ।

अनि अवार्ड आयोजकले पैसाको बिटो खाए भन्ने आरोप छ नि तिम्रो । यो आरोप पनि स्वीकार्य छैन मलाई । पैसाको बिटो उनीहरुले खाएका होइनन्, मैले उनीहरुलाई खुवाएको हुँ ।

तिमी भन्छौ नि मलाई कनिष्ठ होइन म कनिष्ठ । म हुँ वरिष्ठ । वरिष्ठ साहित्यकार

 

Nabintech