७ बैशाख २०८१, शुक्रबार
एमालेकाे आक्रोश : मूल्यवृद्धिबाट जनता आजित भए, टुलुटुलु हेरेर बस्न सक्दैनाैँ

पेट्रोलियम पदार्थमा मोल बढाउँदा भएको घोटाला छानबिन गर्न माग


  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार १६:३३

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ मागेको छ। प्रतिनिधिसभा बैठक शुरु हुनेबित्तिकै सोमबार नेकपा (एमाले)की सचिव एवम् सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन्।

उनले भनिन्, ‘मूल्यवृद्धि गर्दै जनतालाई आहत पार्ने काम गरेको छ, राहत दिने काम गरेको छैन। त्यसैले यो वेला राहत दिने वेला हो। जनतालाई आहत पार्ने वेला होइन। आज मूल्यवृद्धिबाट जनताको जीवन जसरी कष्टकर बनिरहेको छ‚ यो नेकपा एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन। हामीले जनताको आवाजहरू यो संसदमा बोक्नैपर्ने हुन्छ। मूल्यवृद्धिअघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरूमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात छ।’

मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार गरी कुल १८ करोड ९९ लाख ८१ हजार घोटाला गरेको आरोप लगाइन्।

मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन्। यसअघि पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धिबाट २२ करोड रूपैयाँ घोटाला भएको भन्दै छानबिन गर्न माग गरिन्।

‘यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आइपर्‍यो? यसको जवाफ चाहन्छौं। जनताको जीवनसँग जोडिएको, जनताको जीविकासँग जोडिएको यस्ता महत्वपूर्ण विषयहरुमा बाध्यता के आइलाग्यो?‚’ उनले प्रश्न गर्दै भनिन्, ‘किन मूल्य बढाइयो भन्ने सन्दर्भमा माननीय मन्त्रीज्यूले यो सदनलाई आएर जवाफ दिनुपर्छ।’

संसदमा एमालेको मागपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्य तथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरेका थिए।

Nabintech