१२ बैशाख २०८१, बुधबार
प्रयोगविहीन अवस्थामा विज्ञान प्रयोगशाला

  • टाइम्स संवाददाता

  • ६ असार २०७९, सोमबार १६:३५

सुर्खेत :  भेरी नगरपालिका ११ जगतीपुर जाजरकोटमा रहेको शिव शंकर माध्यमिक विद्यालयमा रहेको विज्ञान प्रयोगशाला प्रयोगविहीन अवस्थामा छ। विद्यालयमा प्रयोगशाला भएपनि प्रयोगमा भने नआएको हो। साविकको गाउँ विकास समिति हुँदा नै गाउँ विकास समितिको सहयोगमा यस विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको थियो। २०६३ सालमा यस विद्यालयलाई जगतीपुर गाविसले प्रयोगशालाको लागि सहयोग गरेको थियो।

संघीयता आएपछि भेरी नगरपालिकाले पनि विज्ञान प्रयोगशालाको लागि सहयोग गरेको थियो। तर विद्यालयमा विज्ञान प्रयोगशाला हुँदा पनि प्रयोगमा नआएको विद्यार्थीहरुको गुनासो छ। कक्षा १ देखि सोही विद्यालयमा पढ्दै आएका विवेक आचार्य अहिले कक्षा १० मा पढ्छन्। उनले बाल्यकाल देखिको शिक्षा यही विद्यालयबाट पाएका छन्। तर विद्यालयमा विज्ञान प्रयोगशाला छ भन्ने मात्र सुनेको उनको भनाइ छ। विज्ञान प्रयोगशालाको नाम बारम्बार सुने पनि त्यहाँ कस्ता सामग्रीहरु राखिएको हुन्छ त्यो भने थाहा नपाएको उनको दुखेसो पोखे।

त्यस्तै सोही विद्यालयमा अध्ययनरत कक्षा १० का छात्र सन्तोष चन्दको पनि यस्तै दुखेसो छ। प्रयोगशाला भएपनि विद्यालयले देखाउन कहिल्यै पनि नलगेको सन्तोषको भनाइ छ। उनले भने, ‘विद्यालयमा यो प्रयोगशाला त छ भन्नलाई मात्र हो यसको काम कुनै बेला पनि आएको छैन्।’ विद्यालयले यसको सही सदुपयोग गर्न नसकेको सोही विद्यालयमा अध्ययनरत एक छात्रा बताउँछिन्। जे जति समान छन् त्यति मात्र देखाएपनि केही सिकाइ हुने यस विद्यालयमा अध्ययनरत छात्रछात्राहरू बताउँछन्।

समय भएपनि विषय शिक्षकले देखाउन नचाहने तथा वेवास्ता गरेकोसमेत उनीहरु बताउँछन्। तर विद्यालयमा निमावि तहमा विज्ञान पढाउने शिक्षक हरि नारायण यादवले यस विज्ञान प्रयोगशालामा आवश्यक सामग्रीहरु नभएको बताएका छन्। भवनको अभावका कारण यस प्रयोगशालालाई व्यवस्थित तरिकाले राख्न नसकेकोले विद्यार्थीहरुलाई प्रयोगशाला देखाउन नसकिएको यादवको भनाइ छ।

विषय शिक्षकलाई विज्ञान प्रयोगशालाको बारेमा उपयुक्त तालिम नभएको उनको गुनासो छ। पर्याप्त मात्रामा यस सम्बन्धी तालिम भएपनि यसको प्रयोगबारे छात्रछात्राहरूलाई जानकारी गराउन सजिलो हुने यादवको भनाइ छ। शिवशंकर माविमा मात्र होइन भेरी नगरपालिकाका अधिकांश माविमा विज्ञान प्रयोगशाला भएपनि प्रभावकारी रुपमा प्रयोगमा भने आएका छैनन्। कुनै विद्यालयमा यसबारे तालिम नभएको र कुनै विद्यालयमा त विज्ञान शिक्षक नभएको कारण पनि प्रयोगमा नआएको भेरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अमृत बहादुर पुनले बताएका छन्।

विज्ञान प्रयोगशाला आजको आवश्यकता भएका कारण यसको प्रभावकारी प्रयोगका लागि नगरपालिकाले आवश्यक पहल चाल्ने शिक्षा शाखा प्रमुख पुनको भनाइ छ।

Nabintech