१२ बैशाख २०८१, बुधबार
बिमला वलीमाथि छानबिन गर्न बनेको कार्यदलले थाल्यो काम

  • टाइम्स संवाददाता

  • ८ असार २०७९, बुधबार १४:०८

नेपालगञ्ज: लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले काम सुरू गरेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन टोली मंगलबार बेलुकी दाङ आएका हुन्। उनीहरू आज मीना भण्डारी बस्नेतको घरमा गएर घटनाबारे बुझ्ने तयारीमा छन्। यस्तै स्थानीय प्रहरी कार्यालयमा पनि घटनाबारे बुझ्ने तयारी रहेको छ।

प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन्।

लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री वलीले गत मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट गर्नुका साथै दराजलगायत सामान तोडफोड गरेकी थिइन्।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। घटना भएकै राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उनलाई  बुटवल लगिएको थियो।  वलीको स्वास्थ्यमा समस्या आएको भन्दै लुम्बिनी प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। आफू र छोरीमाथि कुटपिट भएको भन्दै मीना बस्नेतले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

घरभित्र पसेर आफू र छोरीमाथि कुटपिट भएको तथा  दराज फोरेर लत्ताकपडा फाल्ने र च्यात्ने गरेको हुँदा राज्यमन्त्री वलीमाथि कारबाहीको माग मीनाले गरेकी छिन्। गत भदौमा मीनाका श्रीमानसमेत रहेका वाइसिएलका नेता एकराज बस्नेत र राज्य मन्त्री वली बीचको प्रेम सम्बन्ध रहेको कुरा सार्वजनिक भएको थियो।

यद्यपी पछिल्लो समय राज्य मन्त्री वलीले आफूले एकराजलाई सापटीबापत दिएको रकम लिन उनको घरमा जाँदा आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताउने गरेकी छन्।

Nabintech