८ बैशाख २०८१, शनिबार
बैतडीका ८ जनामा कालाजार संक्रमण, एकको मृत्यु

कालाजारबाट कसरी बच्ने ?


  • टाइम्स संवाददाता

  • ८ असार २०७९, बुधबार १६:०८

बैतडी : जिल्लाका ८ जनामा कालाजारको संक्रमण देखिएको छ। चालू आवको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको हो।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानका ८ जनामा कालाजार देखिनुका साथै र कालाजारबाट एकजनाको मृत्यु समेत भइसकेको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २ जना, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका १/१ जनामा कालाजार देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। कालाजार देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना पहिला मृत्यु भएको थियो।

यसैबीच ८ जनामा कालाजार पुष्टि भएपछि सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।

उनले भने, ‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा २५ जनाको नमूना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २५ जनाको नमूना संकलन गरेर परीक्षण गरेका छौं।’ स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयको कालाजार परीक्षण गरेको हो। नमूना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जोशीले बताए।

कालाजार समुदायका अरु व्यक्तिमा पनि हुनसक्ने भएकोले परीक्षण गरिएको हो। नमूना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा  कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  कालाजार भए नभएको रगत परीक्षणबाट थाहा हुन्छ।

स्यान्ड फ्लाई नामक भुसुनाको टोकाइबाट कालाजार सर्ने गर्दछ। भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय रहेको स्वास्थ्यकर्मीले बताएका छन्। यसका साथै  व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्।

कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको संक्रमण हुने, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु लगायतका लक्षणहरू देखा पर्छन्।

कालाजारबाट कसरी बच्ने?

कालाजारबाट बच्नका लागि साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने। बाहिर जाँदा वा घरमा बस्दा मौसमअनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोपिने कपडा लगाउने। लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने।

लुगाले नढाकिएको शरीरको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि कीरा भगाउने मलम लगाउने। खुल्ला झ्यालढोकामा जाली लगाइएको वा वातानुकुलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने। स्यान्ड फ्लाई भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्ने भएकोले सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने।

झ्यालढोकामा जाली नलगाइएको वा वातानुकुलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परे झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर किराहरू छिर्न नसक्ने बनाउने।

Nabintech