१२ बैशाख २०८१, बुधबार
कपिलवस्तुमा छात्रालाई साइकल वितरण

कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५  छात्रालाई साइकल वितरण


  • टाइम्स संवाददाता

  • ९ असार २०७९, बिहीबार ०९:३०

चन्द्रौटा, ९ असार : कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ माध्यमिक विद्यालयका कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५  छात्रालाई साइकल वितरण गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताउनुभयो । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

छोरीलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरिएको छ । साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताउनुभयो ।

साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले  बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा पनि विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो । रासस

Nabintech