१२ श्रावण २०८१, शनिबार
५० वर्षपछि सुन्दरी तोप दैलेखकाे कोतगढीमै फर्काइयाे

२०२८ सालमा ठूलो भोकमरीका कारण ब्यारेक सुर्खेत सर्दा अर्घा र सुन्दरी नामका दुई वटा तोप दैलेखबाट बोकेर सुर्खेत पुर्याइएकाे थियाे


  • टाइम्स संवाददाता

  • १० असार २०७९, शुक्रबार १०:४५

दैलेख : करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमै पुनर्स्थापना गरिएको छ । नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याएसँगै सुन्दरी ताेप गढीमा राखिएकाे हाे ।

नेपाली सेनाको पश्चिम कमाण्ड रथि ब्रिगेड जर्नेल प्रेम शाही र नारायण नगरपालिकाका मेयर लोमन शर्माले हिज‍ाे एक कार्यक्रमकाबीच संयुक्त रूपमा ताेपकाे पुनर्स्थापना गर्नुभएकाे हाे ।

बहादुर शाहको नायबी शासनकालमा बाइसे-चौबिसे राज्यलाई नेपाल एकीकरणमा जोड्ने क्रममा अम्मरसिंह थापाले कोतगढी किल्ला निर्माण गर्न लगाइ तोप राखिएको मानिन्छ । नेपाल एकीकरणपछि अहिलेको जिल्ला सदरमुकाममा रहेकाे कोतगढी किल्ला आसपास ब्यारेकमा सेना बसेकाे थियाे ।

२०२८ सालमा ठूलो भोकमरीका कारण ब्यारेक सुर्खेत सर्दा अर्घा र सुन्दरी नामका दुई वटा तोप दैलेखबाट बोकेर सुर्खेत पुर्याइएकाे थियाे । सुर्खेतकोे बाहिनीमा राखिएको तोप दैलेखको कोतगढीको अभिन्न ऐतिहासिक सम्पदा भएको भन्दै कोतगढीमा राखिनु पर्ने मागपछि सुन्दरी तोप फर्काइएको हो ।

दैलेखमा रहेकाे कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँ, यसअघिकाे समसुर गुल्मका सेनानी दिनेश लामाले ताेप फर्काउनका लागि सेनाको माथिल्लो निकायमा पहल गर्नुभएको थियो ।

कोतगढीमा राखिएको सुन्दरी  तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिएकाे छ । नगरपालिकाले सुन्दरी ताेपमार्फत जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरेकाे छ । सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोपु कहाँ छ भन्ने अझै खुल्न सकेको छैन ।

स्थानीय सरकार र नागरिक समाजले निरन्तर आवाज उठाएपछि २०७८ साल पुस २० गते सुर्खेतबाट सुन्दरी ताेप कालीदत्त गुल्मको काँडाचौर ब्यारेकमा ल्याइएकाे थियाे । त्यसबेला कोतगढीको पुनर्निर्माणकाे काम अधुरो भएको कारण सुन्दरी तोप काँडाचौर ब्यारेकमा नै राखिएको थियाे । कोतगढी पुनर्निर्माण सकिएपछि अहिले ताेपलाई यहाँ पुनर्स्थापना गरिएको हो ।

Nabintech