५ जेष्ठ २०८१, शनिबार
अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

  • टाइम्स संवाददाता

  • १० असार २०७९, शुक्रबार १०:४९

एजेन्सी: पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि ग्रह आज सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ ।

बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिनेछ । आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नाङ्गो आँखाले नै देखिएको खगोलविद्ले जनाएका छन् ।  यी ग्रहहरू एउटै लहरमा यसअघि सन् २००४ को डिसेम्बरमा देखिएका थिए ।

अब सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ । सौर्यमण्डलमा रहेका ग्रहहरूले आफ्नै कक्षमा सूर्यको परिक्रमा गर्ने र यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन् । ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण हुने ज्योतिषीहरूको मान्यता छ।

Nabintech