१३ बैशाख २०८१, बिहीबार
ढकालकोे आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास

  • टाइम्स संवाददाता

  • २१ असार २०७९, मंगलवार १६:०३

नेपालगञ्ज : साहित्यकार महानन्द ढकालले बसाइसराईको विषयमा केन्द्रित रही लेखेको नयाँ उपन्यास ‘बुह्रान’ बजारमा आउने भएको छ । बुह्रान क्षेत्रमा बस्ने गरिब थारू तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासको आवरण साङ्ग्रिला बुक्सले सार्वजनिक गरेको हो ।

उपन्यासकार ढकालका अनुसार ‘बुह्रान’ उपन्यास जातीय समानता र सहकार्यको कथा हो । उनले भने, ‘जहाँ गरिव थारूहरूको सपनाले यात्रा गरेको छ । गास, बास र कपासका लागि थारूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराईका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनिएको छ । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूको जीवनचर्या र सामाजिक उपस्थितिको मूल्याङ्कन गरिएको छ ।’

ढकालका अनुसार बसाइसराइको बाध्यता एवं थारू समुदायमा लामो समयसम्म प्रचलित कमैया तथा कमलरी प्रथाबाट सिर्जित अवस्थालाई उपन्यासमा समेटिएको छ । उनले उपन्यासमा जातीय समानताका लागि अन्तर्जातीय विवाह महत्वपूर्ण हुन सक्ने कुरा औंल्याउन खोजिएको बताए ।

उनले भने, ‘समान आर्थिक हैसियत भएका फरक समुदायका पार्वती र माइलामध्ये पार्वतीको जीवनस्तरमा परिर्वतन आउँदा माइलाको जीवनस्तरमा परिर्वतन नआउनुका कारणको खोजी गरिएको छ । उपन्यासमा थारू जाति र उनीहरूले ज्यानको बाजी लगाएर गरिएका कन्द्रा आन्दोलन, कमैया, कमलरी, थरूहट र भूमिगत आन्दोलन आदिबाट प्राप्त उपलब्धिको लेखाजोखा गरिएको छ ।’ उपन्यासले नेपालको सामाजिक, सांस्कृतिक, राजनीतिक तथा पर्यावरण एवं गरिबीको अवस्था र परिवेशलाई कलात्मक ढंगले उनिएको छ ।

साहित्यक विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएका ढकाल नेपाली साहित्यिक क्षेत्रमा परिचित अनुहार हुन् । साहित्यलाई संस्थागत रुपमा विकसित तुुल्याउन ढकालले गरेको योगदानलाई महत्वपूर्ण मानिन्छ ।

कविता लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका उनका यसअघि ‘खण्डित आत्मा’ गजल संग्रह (२०५८), ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ गजल संग्रह (२०५९), ‘अव्यक्त प्रत्याशा’ गजल संग्रह (२०६३), ‘घाम उदाए’ हाइकु संग्रह (२०६८) र सिमाना मुक्तक संग्रह (२०७७) प्रकाशित भइसकेको छन् । ढकालकोे आख्यानको क्षेत्रमा ‘बुह्रान’ पहिलो उपन्यास हो ।

Nabintech