१३ बैशाख २०८१, बिहीबार
नरैनापुर रंगशाला निर्माणमा विवाद

१५० जना कृषकको जग्गा अधिग्रहण गरेपछि काम रोकियो


  • टाइम्स संवाददाता

  • २१ असार २०७९, मंगलवार १६:१२

नरैनापुर, बाँके : संघीय सरकार र नरैनापुर गाउँपालिकाको आधा आधा लगानी निर्माण सुरु भएको रंगशला बारे विवाद उत्पन्न भएको छ । १८ महिना भित्र निर्माण पूरा गर्नका लागि पीएस कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको रंगशाला निर्माण स्थानीय ब्यक्तिहरुले अवरोध गरेपछि रोकिएको हो । बाँके नरैनापुर गाउँपालिका वडा नं.४ दौलतपुर नजिक करिब ५ विघा जग्गामा निर्माण हुन लागेको रंगशालाले स्थानीयहरु जग्गा कब्जा भएको आरोप लगाउँदै निर्माण रोकिएको हरिराम बाहुनले बताए ।

हामी २०३५ साल अघि देखि वडा नं.४ख कित्ता नं.९४ को ऐलानी जग्गा जोतभोग गरि आएका छौं बाहुनले भने, हामीलाई विकल्प नदिएर रंगशाला निर्माण गर्न मिल्दैन । करिब १५० बढि किसानहरुको जग्गा रंगशालामा जाने भएपछि उत्पन्न विवादका कारण सोमवार देखि निर्माण कार्य रोकिएको छ ।

रंगशाला निर्माण बारे हामीलाई कुनै थाहा जानकारी दिई जबरजस्ती हाम्रो जग्गा कब्जा गर्न खोएिको हो,  स्थानीय बासिन्दा धनविर चौधरीले भने, हाम्रो खेत मासेर रंगशाला बनाउन प्रयास गरे हामी अवरोध गर्छौं ।

कुनैपनि हालतमा हामी हाम्रो खेत जान दिन्नौं स्थानीय कृषक ज्ञान बहादुर दर्जीले भने, हामीहरुको जग्गा कब्जा गरेर जबरजस्ती हामीलाई आश्रय विहिन बनाउने प्रयास भइरहेको छ । रंगशाला बनाउने तयारी हुन लागेको ३ वर्ष भयो, नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले  भने, ऐलानी प्रति जग्गा भएका कारण नेपाल सरकारले पनि अधिग्रहण गर्ने निर्णय गरिसकेको छ ।

केहि ब्यक्तिहरुको जग्गा जाने त निश्चित नै छ, लेखापाल अधिकारीले भने, विकास गर्ने क्रममा केहि क्षति हुन्छ, त्यसको ब्यवस्थापन गरेर विकास निर्माणको कार्य अघि बढ्छ । उनले १८ महिना भित्र रंगशाला निर्माण सम्पन्न गर्ने हिसाबले विकास निर्माणको कार्य अघि बढाइएको बताए ।

नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले विकास निर्माणमा जनताले सहयोग गर्नु पर्ने बताए । हामी जनतालाई क्षति गर्न खोजेका छैनौं, तर विकास गर्दा केहि क्षति हुनु स्वभाविक हो । नरैनापुर गाउँपालिकाकै पहिचान स्थापित हुने हिसाबले रंगशाला निर्माण थालिएको हो, उनले भने, जनताको सहयोग र साथ विना विकास सम्भव छैन ।

Nabintech