• १४ आश्विन २०७९, शुक्रबार
शिक्षकको भैँसी फार्म

“जागिरभन्दा भैँसी फार्म खोलेर काम गर्नु निकै राम्रो छ, कसैको अधिनमा बसेर काम गर्नु पर्दैन


  • टाइम्स संवाददाता

  • २१ असार २०७९, मंगलवार १६:२३

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर मल्ल पेसाले शिक्षक हुनुहुन्छ । शिक्षक पेसासँगै मल्लले व्यावसायिक भैँसी फार्म सञ्चालन गर्दै आउनुभएको छ । बिहानीको झिसमिसेमै ब्यूँझने मल्लले फार्ममा पालिएका भैँसीको गोबर सोहर्ने, घाँस काटेर खुवाउन र पानीको जोहो गर्ने काम गर्नुहुन्छ । त्यसपछि फार्ममा पालिएका भैँसीको दूध दुहेर ठिक्क पार्नुहुन्छ । दूध बजारमा बिक्री गर्न डिब्बामा राखेर गाउँको दूध सङ्कलन केन्द्रमा पुग्नुहुन्छ ।

फार्मका भैँसीको दूधसँगै गाउँका बासिन्दाको दूध मोटरसाइकलमा बोकेर वनसमिति, झलारी बजारमा रहेका डेरी पसलमा लगेर बेच्नुहुन्छ । दैनिक ६५ देखि ८० लिटर दूध बिक्री गर्नका लागि बजारमा पु¥याउने गरेको उहाँ बताउनुहुन्छ ।

“बजारमा गाईको दूधको तुलनामा भैँसीको दूधमा माग अधिक रहेको छ,” उहाँले भन्नुभयो, “प्रतिलिटर दूध रु ६५ मा बिक्री हुने गरेको छ । डेरी सञ्चालकहरुले नगद रकम दिएर दूध खरिद गर्ने गरेका छन् ।” “बिहान ७ देखि दिउँसो १२ बजेसम्म विद्यालयमा विद्यार्थीलाई पढाउने कार्य गर्दै आएको छु । विद्यालयबाट फर्केपछि पुनः फार्ममै भैँसीकै रेखदेखमा खटिनु पर्दछ ।” श्रीमतीले समेत फार्ममा पालिएका भैँसीको हेरचाहमा सहयोग पु¥याउने गरेको उहाँले बताउनुभयो ।

मल्ल गाउँकै धर्मजनता माविमा दुई दशकदेखि राहत कोटामा कार्यरत शिक्षक हुनुहुन्छ । विद्यालयमा समेत उहाँ मिहिनेती शिक्षकका रुपमा परिचित हुनुहुन्छ ।  मल्लको फार्ममा हाल नौवटा भैँसी छन् । फार्ममा उहाँले रु १० लाख बढी लगानी गर्नुभयो । फार्ममा दुईवटा भैँसी मात्रै दूध दिने भएकाले गाउँका बासिन्दाको समेत दूध सङ्कलन गरी बजारमा बेच्नु परेको उहाँ बताउनुहुन्छ । दैनिक रु पाँच हजारभन्दा बढीको दूध उहाँले बिक्री गर्नुहुन्छ । जसबाट मल्लले रु तीन हजार जति आम्दानी गर्नुहुन्छ । “घरमै परम्परागत रुपमा पालिएका भैँसीबाट एकबाट दुई गर्दै छ पु¥याएँ,” उहाँले भन्नुभयो, “तीनवटा बाह्य क्षेत्रबाट खरिद गरेर ल्याएको हो ।”

साँझबिहान गरी २० लिटर दूध उत्पादन हुने गरेको छ । “जागिरभन्दा भैँसी फार्म खोलेर काम गर्नु निकै राम्रो छ । कसैको अधिनमा बसेर काम गर्नु पर्दैन । आफँै मालिक, आफैँ कामदार बनेर काम गर्नुको मज्जा नै बेग्लै छ । सोचे जस्तै आम्दानी हुने भएकाले पैसाका लागि अरू कहाँ हात थाप्नु पनि परेन,” उहाँले भन्नुभयो । फार्मलाई अझै व्यवस्थित गरी भैँसीको सङ्ख्या २० पु¥याउने लक्ष्य उहाँले लिनुभएको छ ।

“मिहिनेत धेरै भए पनि कमाई पनि कम्ती छैन,” उहाँ भन्नुहुन्छ, “फार्मको स्तरोन्नति गरी कामदार राखेर व्यवसायलाई विस्तार गर्नका लागि कार्य अगाडि बढाउने सोच अघि सारेको छु ।” आफनै स्वामित्वको पाँच कट्ठा जग्गामा मल्लले सुपरनेपियर जातको घाँससमेत रोप्नुभएको छ । खेतमै रोपिएको घाँसले भैँसीलाई खुवाउन पर्याप्त हँुदै आएको उहाँले बताउनुभयो ।

“स्वदेशमा रोजगारी छैन भनेर धेरै युवाहरु विदेसिने गरेका छन्,” उहाँले भन्नुभयो, “आफैँले स्वरोजगारी सृजना गरे विदेशको भन्दा परिवारसँगै बसेर गतिलो आम्दानी लिन सकिन्छ । थोरै लगानी गरेर पनि बढी आम्दानी लिन सकिने व्यवसायको कमी छैन । त्यसका लागि लगनशीलता र परिश्रम भने आवश्यकता पर्दछ ।” फार्ममा भैँसीसँगै मल्लले बाख्रपालन गर्नुभएको छ । फार्ममा १५ वटा उन्नत जातका बाख्रासमेत पालिएका छन् ।

Nabintech