१५ चैत्र २०८०, बिहीबार
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते,बागलुङमा दुईजनाको मृत्यु, एक गम्भीर

  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार ०९:१८

चितवन: चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।

यसैगरि बागलुङको निसी खोलामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। बुधबार राति निसीखोला गाउँपालिका वडा नम्बर ३ की ६६ वर्षीया नरमति घर्ती र वडा ६ गुमकी १६ वर्षीया ज्ञानमला परियारको मृत्यु भएको हो।

चट्याङ लाग्दा वडा नम्बर ६ की ३३ वर्षीया ननसरा परियार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। घाइते परियारको निसी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताए।

घर्ती आफन्तको घरमा पाहुना बस्न गएको बेला राति ८ बजे चट्याङ लागि घाइते भएको र उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। उनको उपचारको क्रममा पौने २ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ। परियार भने सुतिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

Nabintech