१५ चैत्र २०८०, बिहीबार
बीमा गर्दै, मार्सी धान रोप्दै जुम्लाका किसान

२ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन


  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार ०९:३२

नेपालगञ्ज: जुम्लाको पातारासी गाउँपालिका-३ का किसान कृष्णबहादुर महातराले २ हजार ७ सय २५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन् । २ साताअघि मात्रै प्रिमियम बापत ३ सय ३५ रुपैयाँ तिरेर उनले उक्त खेतीको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदा सम्म केही क्षति भए उनले बीमा बापत २६ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

कृष्णका छिमेकी पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गरेका छन् । २ सय ६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका उनले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउनेछन् ।  मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ ।
केही वर्षयता मुलुकभित्र र बाहिरसमेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो । मार्सी धानमा रोग किराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमा समेत कमी आउन थालेको किसान बताउँछन् ।
बीमा कार्यक्रम सुरु भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वास लिएको छ । कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका हुन् ।

छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । २ हजार ८ सय ५० मिटर उचाइमा फल्ने मार्सी धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ ।

छुमचौरमा झन्डै ५ सय ५० वर्ष अघिदेखि धान खेती गर्न थालिएको बताइन्छ । केही वर्षयता रोग किराको संक्रमण बढेर उत्पादनमा ह्रास हुन आउन थालेपछि किसानले धान रोप्नै छाडेका थिए । धानमा रोग लागेर वा प्राकृतिक प्रकोपका कारण क्षति हुन पुगेमा दाबी भुक्तानी पाउने भएकोले अब ढुक्क भएर खेती गर्न सक्ने अवस्था आएको पदमबहादुरले बताए ।
कृषि क्षेत्रको बिमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ । बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेका उनले जानकारी दिए । मार्सी धान जुम्लाको ब्रान्ड भएकाले बिमा कार्यक्रम सुरु गरिएको कम्पनीका जुम्ला शाखा प्रमुख लक्ष्मण शाहीले बताए । जुम्लामा झण्डै ३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब १५ सय हेक्टरमा काली मार्सी धान रोप्ने गरिएको कृषि कार्यालयको तथ्यांक छ ।

 

Nabintech