१६ चैत्र २०८०, शुक्रबार
नेपाललाई क्यानडाले हरायो

  • टाइम्स संवाददाता

  • २३ असार २०७९, बिहीबार ०९:३६

नेपालगञ्ज: दोस्रो एकदिवसीय खेलमा नेपाललाई घरेलु टिम क्यानडाले ८३ रनले पराजित गरेको छ। बिहीबार विहान सकिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ९ विकेटको क्षतिमा १८८ रन जोड्यो। उसका लागि श्रेयस मोभाले ५० रन र आरोन जोनसनले ४४ रन जोडे।बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले विकेट र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

१८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमै अलआउट भयो। नेपालका लागि देव खनालले सबैभन्दा बढी २६ रन जोडे।ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा अर्का ओपनर पवन सर्राफले १४ रन मात्र जोडे। रोहित पौडेल ६ रनमा आउट हुँदा दीपेन्द्र र आसिफ शेख डकआउट भए।

बासिर अहमेद, विनोद भण्डारी र आदील अन्सारीले १३-१३ रन मात्र जोड्न सके।  करण केसी ५ रनमा नटआउट हुँदा सन्दीप लामिछाने ११ रनमा आउट भए।  यसअघि पहिलो एकदिवसीय वर्षका कारण रद्द भएकाे थियो। जसका कारण दुई खेलको सिरिज घरेलु टिमले १-० ले जितेको छ। अब‍ नेपाली टिम स्कटल्यान्ड प्रस्थान गर्नेछ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिज सिरिज आगामी असार २७ देखि सुरू हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरूद्ध खेल्नेछ। अंक तालिकामा नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ।

७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ। २० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ।नेपाल भन्दा तल छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छन्।  नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार बेहोरेको छ भने १ खेल बराबरी खेलेको छ।

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शरार्फ र विनोद भण्डारी।

Nabintech