१२ श्रावण २०८१, शनिबार
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङलाई

  • टाइम्स संवाददाता

  • २५ असार २०७९, शनिबार १२:२१

बागलुङ : प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७८ को उपाधि बागलुङले जितेको छ। २७ पदक हासिल गर्दै बागलुङ जिल्ला राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बनेको हो।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यपदक हात पार्दा नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो भयो। स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्यसहित तेस्रो भएको छ।

च्याम्पियन बागलुङले रनिङ शिल्डसहित नगद ३० हजार प्राप्त गरेको छ। नवलपुरले नगद २० हजार र स्याङ्जाले १० हजार रुपैयाँ हात पारेका छन्।

असार २३ गते पोखरा रंगशालामा  सुरु भएको प्रतियोगितामा बागलुङले उसुमा ३ स्वर्ण र २ रजत, कराँतेमा १ स्वर्ण, २ रजत र २ कास्य, तेक्वान्दोमा ३ स्वर्ण र ३ रजत, एथलेटिक्समा २ स्वर्ण ४ रजत १ कास्य, भलिबलछात्रतर्फ एक कास्य र कबड्डी छात्रतर्फ एक स्वर्ण पदक हात पारेको छ।

नवलपुरले भने एथलेटिक्स खेलतर्फ ९ स्वर्ण ४ रजत र ५ कास्य पदक जितेको छ। नवलपुरले कराँतेमा १ रजतहातपार्दा तेक्वान्दोमा १ रजतर १कास्य तथा कबड्डी छात्रातर्फ १ कास्य पदक प्राप्त गरेको छ। तेस्रो स्थान प्राप्त गरेको स्याङ्जाले एथलेटिक्समा ५ स्वर्ण, २ रजत र १ कास्य, कराँतेमा १ कास्य तथा भलिबल छात्र\छात्रातर्फ १\१ स्वर्ण प्राप्त गरेको छ।

प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५७४ खेलाडी सहभागी थिए। उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका हुन्।

यसअघि जिल्ला स्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भएको थियो। प्रतियोगितामा विजेता खेलाडीले प्रदेशस्तरमा सहभागिता जनाएका हुन्।

प्रदेश स्तरको प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डमा ६ खेलका १११ खेलाडी छनोट गरिएको छ। उनीहरूलाई दुई दिनसम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने छ। उनीहरू असार २७ गते काठमाडौं प्रस्थान गर्ने सदस्य सचिव गुरुङले जानकारी दिए। राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गतेसम्म काठमाडौंमा हुनेछ ।

Nabintech