१२ श्रावण २०८१, शनिबार
नरैनापुरमा भौतिक संरचना निर्माणका लागि १५ दिन भित्रै ४० करोड बजेट विनियोजन गरेर सिलान्यास गरिने

  • टाइम्स संवाददाता

  • २८ असार २०७९, मंगलवार ०९:३५

बाँके : नवनियुक्त भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले पाँच महिनामा नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । नरैनापुर गाउँपालिकाकाले एक कार्यक्रमको आयोजना गरी मन्त्री राईलाई बधाई एवं शुभकामना दिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले नरैनापुर बासीहरुकै कारण आफु राजनितिमा सफल भएको बताउँदैं उनले नरैनापुर बासीको ऋण जिवनको अन्तिम सास सम्म समेत तिर्न नसक्ने बताए ।

उनले भने नरैनापुरलाई दुर्गमको रेखा मुनिबाट हटाएर सुगम बनाउने तर्फ भुमिका खेल्ने जिकिर गरे । मन्त्री राईले नरैनापुरमा छात्रा विद्यालय निर्माण देखि रोड, पुल लगायत भौतिक संरचना निर्माणका लागि १५ दिन भित्रै ४० करोड बजेट विनियोजन गरेर सिलान्यास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री राईलाई स्वागत गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले ‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटर बाटो नपुगेका स्थानमा मोटरबाटो नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ अध्यक्ष शाहले भने, ‘नरैनापुर जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्री राईसंग माँग गरेका थिए ।’

अध्यक्ष शाहले भने ‘विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो । नयाँ सम्भावना के हुन सक्छ, खोज्ने हो, ’उनले भने ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमि, नदीनाला र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने ? यही विकट स्थानलाई सुगम बनाउन सरकारले पहल गर्नुपर्छ ।’ मन्त्री राईलाई अध्यक्ष शाहले २३ वटा योजनाको माँग पत्र हस्तान्तरण गरेका थिए ।

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर २ नरैनापुरबाट अत्यधिक मतका साथ विजयी भएका मन्त्री राईले सो समयमा जनताको चाहना अनुसार काम गर्न नसकेका कारण दोस्रो पटकको निर्वाचनमा पराजित हुनु परेको थियो । स्थानीय नागरिकहरुले तेस्रो पटक मन्त्री बनेका राईलाई बधाई दिदैं नरैनापुरलाई दुर्गमबाट सुगम बनाइ दिन माँग गरेका थिए ।

मन्त्री राईलाई नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवस्तव, वडा नं १,२,३,४ र ६ का अध्यक्षहरु, वडा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेत, योजना शाखा प्रमुख भरत महतो, लेखापाल प्रकाश अधिकारी लगायतले बधाई दिएका थिए भने उक्त कार्यक्रममा जनता समाजवादी पार्टी बाँके अध्यक्ष कमरुद्दीन राई, सचिव राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको सहभागिता रहेको थियो ।

Nabintech