८ बैशाख २०८१, शनिबार
स्कटल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जित

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार ०८:१४

काठमाडौँ : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा स्कटल्यान्डलाई पराजित गरेको छ ।गए राति सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्यान्डलाई पहिलो पटक हराएको हो ।

स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । स्कटल्यान्डले ब्याटिङ गर्ने क्रममा ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो । एक सय ४५ रनको विजयी लक्ष्य नेपालले २५ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा आसिफ शेखको ७१ रन सामेल थियो । उनले ६२ बल खेल्दै एक छक्का र १० चौका प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले २७ रन, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा आरिफ शेखले एक रन बनाए । रोहितकुमार पौडेल ३४ रनमा अविजित रहे ।  बलिङतर्फ स्कटल्यान्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा स्कटल्यान्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाए । मार्क वाटले १७, साफ्यान शारिफले १६ र  कलुम म्याकलोडले १३ रनको योगदान दिए ।  बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले तीन÷तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।

यस सिरिजमा नेपालको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डको भने यो पहिलो हार हो । पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ७७ रनले हराएको थियो । जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बाइस खेल खेलेको स्कटल्याण्ड ३० अङ्कका साथ दोस्रो स्थानमा कायमै छ । सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेल शनिवार नामिबियासँग खेल्नेछ ।

Nabintech