७ बैशाख २०८१, शुक्रबार
गभर्नरमाथि राष्ट्रियसभामा पनि आलोचना, छानबिनको माग

  • टाइम्स संवाददाता

  • ३० असार २०७९, बिहीबार १२:२४

काठमाडौं : राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

बिहीबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन्। उनले नियम, कानुन, मूल्य मान्यता, गल्ती र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे।

उनले भने,‘नियम कानुन मूल्य मान्यता गल्ती र नैतिकता समाजलाई सुसंस्कृत बनाउनलाई हो। सकेसम्म संघर्ष नगरेर अभियान नचलाएर दबाब नदिएर आन्दोलन नगरेर यो नैतिकतालाई स्थापित गर्न पाए राम्रो हुने थियो भन्ने प्रतिपक्ष दलका नेताको उद्घोषलाई यति खेर पुनः आत्मासाथ गर्नुपर्ने देखिन्छ। बाहिर पत्रपत्रिकामा चर्चा परिचर्चा छ। एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै हुन् सरकार छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्दछु।’

गभर्नर महाप्रसाद अधिकारीको बारेमा बुधबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले चर्को आलोचना गर्दै छानबिनको माग गरेका थिए।

त्यस्तै, सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताइन्। उनले बजार महँगीले दिनभरी काम गरेर विहान बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गरिन्।

उनले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताइन्। सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपत्ति जनाइन्।

उनले सरकारले सांसदहरुसँग समेत छलफलबिना महत्वपूर्ण नागरिकता, हतारहतार किन्ने, महिला हिंसा विधेयक हतारहतारमा ल्याएको बताइन्। सांसद जीसीले यौन हिंसा सम्बन्धिको संकल्प प्रश्ताव राष्ट्रियसभामा पास भएकाले हदम्यादको बारेमा सरकारले पुनर्विचार गर्न माग गरिन्।

सांसद जिसीले सम्बन्धित निकायले आवश्यक छैन भन्दा भन्दै पनि प्रतिपक्षको विरोध आयो भनेर बालुवाटार बोलाएर विज्ञप्ति निकाल्ने कुरा संसदमा सरकारले जानकारी दिनुपर्ने बताइन्।

 

Nabintech