१४ बैशाख २०८१, शुक्रबार
लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु

रनियापुरमा छुट्याएको ११० बिघा जग्गा प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको छ


  • टाइम्स संवाददाता

  • ३२ असार २०७९, शनिबार १०:२९

बुटवल: लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा बनाउन लागेको प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११० बिघा जग्गा प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको छ । उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको प्रतिक्रिया दिएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिएका छन् । उनका अनुसार उक्त टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थलसमेत अवलोकन गरेको थियो ।

तत्कालै विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि जनक शिक्षा केन्द्रको छापाखाना राख्नका लागि निर्माण भएको भवनमा विश्व विद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने प्रस्तावसमेत टोलीले गरेको छ । सो भवनमा तत्कालका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार बनाइदिने र जनक शिक्षासँग अस्थायी कार्यालय राख्न सहमतिका लागि पत्राचार गर्ने निर्णय भएको अध्यक्ष विकले बताए ।

विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा प्रदेश विश्वविद्यालयको काम थाल्ने घोषणा गरेको थियो भने यसअघिको सरकारले पनि नीति तथा कार्यक्रममा पार्नाका साथै विश्व विद्यालयका लागि बजेट विनियोजन गरे पनि कार्यविधि नबनेका कारण फ्रिज भएको थियो । तर अहिलेको सरकार तथा योजना आयोगले बाँकेको यो विश्वविद्यालयलाई दाङ तथा कपिलवस्तुमा राख्नका लागि जग्गा खाजेको विषय बाहिर आएपछि बाँकेवासीले आन्दोलन गरेपछि सरकारले त्यो निर्णयबाट पछि हट्नुपरेको थियो ।

लुम्बिनी प्राविधिकमा उपकुलपति माग

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा उपकुलपति माग भएको छ । लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले सूचना प्रकाशित गर्दै उपकुलपति माग गरेको हो । उपकुलपति नियुक्तिका लागि प्रदेश सरकारलाई उम्मेदवार सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना निकालेर दरखास्त आह्वान गरेको छ ।

प्रकाशित सूचना अनुसार शिक्षा, विज्ञान तथा खेलकूद मन्त्रालयमा इच्छुकले आवश्यक कागजात बुझाउन सक्नेछन् । विद्यावारिधि उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने पनि सूचनामा उल्लेख छ । करिब १५ वर्ष विश्वविद्यालय तहमा पढाएको वा अनुसन्धानका काम गरेको प्राध्यापक उपाधि हासिल गरेको व्यक्ति दरखास्तका लागि योग्य हुने सूचनामा उल्लेख छ ।

 

Nabintech