८ बैशाख २०८१, शनिबार
सुरु भयो एमालेको पाँच हजार दिने पाँच हजार सदस्य अभियान

  • टाइम्स संवाददाता

  • ३२ असार २०७९, शनिबार १०:५८

ललितपुर: नेकपा एमालेले पार्टीमाथि सदस्यहरूको स्वामित्व बढाउन, भावनात्मक एकता कायम गर्न तथा स्रोत सङ्कलनलाई व्यवस्थित रूपमा निरन्तरता दिनका लागि अगाडि सारेको पाँच हजार दिने पाँच हजार सदस्य राष्ट्रिय अभियान शुक्रवारदेखि सुरु भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को सुरुवातसँगै लागु हुने उक्त अभियानको शुभारम्भ शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा भएको हो ।

पार्टीले सञ्चालन गरेको पाँच हजार दिने पाँच हजार सदस्य राष्ट्रिय अभियानको शुभारम्भ नेकपा एमाले समर्थित सहकारी कर्मीहरूबाट सुरु भएको हो ।

अभियानको शुभारम्भ सहकारी क्षेत्रमा संलग्न ५० जना पार्टी सदस्यको सहभागिताबाट भएको छ । सहकारी अभियानमा सक्रिय एमालेका सदस्यहरूले पार्टीले सञ्चालन गरेको अभियान सकारात्मक र पार्टी सञ्चालनका लागि महत्त्वपूर्ण लागेकोले आफूहरूले पार्टीको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमाले महासचिव शङ्कर पोखरेलले सहकारी अभियान र एमाले पार्टीले सञ्चालन गरेको अभियानको प्रकृति मिल्ने भन्दै पार्टी अभियानमा साथ दिन आग्रह गर्नुभयो । पार्टी सदस्यहरूको मात्र सहभागिता रहने यस अभियानको शुभारम्भका अवसरमा महासचिव पोखरेलले पार्टीलाई सदस्यहरूको आर्थिक सहयोगमा आधारित र आत्मनिर्भर बनाउन यो अवधारणा ल्याइएको बताउनुभयो ।

सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन राज्यको भूमिका बढाउनु पर्नेमा जोड दिँदै महासचिव पोखरेलले सहकारीलाई उत्पादनसँग जोड्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र राष्ट्रिय पुँजी –निर्माणका लागि बचत परिचालनमा थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

मुलुकको स्थिरता र विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको चर्चा गर्दै उहाँले नेकपा एमालेलाई मुलुकको बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नका लागि पार्टीका हरेक क्षेत्रमा क्रियाशील सदस्यहरूको सहयोग र समन्वय आवश्यक रहने बताउनुभयो ।

​​​​​​​

कार्यक्रममा पार्टीका उपमहासचिव तथा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभागका प्रमुख विष्णु रिमालले अभियानका बारेमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । यो अभियानमा सहभागी हुन चाहनेहरूले मोबाइल बैङ्किङ तथा ई सेवाबाट क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो ।

यो अभियानमा संलग्न हुन चाहनेहरूको पार्टीमा प्रत्येक महिना पाँच हजार रुपैयाँ योगदान रहनेछ । वर्तमान केन्द्रीय कमिटीको अवधिसम्म यो अभियान सञ्चालन हुने रिमालले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारी कर्मीहरूको तर्फबाट सहकारी तथा गरिबी निवारण विभागका सदस्य के.बी.उप्रेतीले पार्टीले सञ्चालन गरेको अभियानमा पार्टीका सदस्य सहकारी कर्मीहरूबाट सक्दो सहयोग र सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

यो अभियान रकम सङ्कलनका लाग मात्र नभई पार्टीलाई सदस्य आधारित बनाउन योगदान गर्ने सदस्य तथा शुभेच्छुकको समर्पणका लागि पनि योगदान भएकाले हरेक महिना पाँच हजार–पाँच वर्षसम्मको नीति लिइएको छ ।

Nabintech