१२ बैशाख २०८१, बुधबार
पावर हाउस घटनाको स्थलगत अनुगमन: मृतकका परिवारलाई पालिकाले एक लाख दिने

विद्युत् गृह भासिँदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको हो


  • टाइम्स संवाददाता

  • ३२ असार २०७९, शनिबार ११:०३

जुम्ला:  गए राति हिमा गाउँपालिका– १ आचार्यलिहीमा पहिरोले विद्युत् गृह भासिँदा एकै परिवारका ३ जना मृत्यु भएपछि घटनाको स्थलगत अवलोकन गरिएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँ, सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य सङ्घ, गैसस सहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो ।

घटनास्थलको अवलोकन गरेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहत स्वरूप एक लाख रकम दिने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले घटनाको प्रकृति हेरेर अहिले स्रोत साधन अनुसार एक लाख रकम दिने तथा क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।”

अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । बैठकले गाउँपालिकाको तर्फबाट शोक प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, सङ्घीय सरकारले नियम अनुसार प्रति व्यक्ति एक लाखको दरले राहत प्रदान गर्ने तथा एकै परिवारमा बढी मानवीय क्षति भएमा एक लाख थप पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले बताउनुभयो ।

प्रजिअ प्रसाईँले आवश्यक प्रमाण भएमा चाडै श्रीमानको खातामा रकम हाल्न सकिनेमा बताउनुभयो ।  यसैगरी मृतकको पोष्टमार्टम समेत भइसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले  जनाएको छ ।

प्रहरी चौकी  हिमा गाउँपालिका –१ बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार जुम्ला हिमा गाउँपालिका–१ आचार्यलिहीमा रहेको भित्री खोला लघु जलविद्युतको पावर हाउस पहिरोले भासिँदा विद्युत्का अपरेटर गोरखबहादुर रावतका श्रीमती र दुई छोरोको गए राति मृत्यु भएको थियो । रावतका ३० वर्षीया श्रीमती  विमला रावत, ९ वर्षीय छोरा भरत रावत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको थियो ।

Nabintech