७ बैशाख २०८१, शुक्रबार
विद्यार्थीको खाजा बनाउन दिनहुँ विद्यालय पुग्छन् अभिभावक

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार १०:०४

रुकुम (पूर्व) : भूमे गाउँपालिका–३ स्थित शहीद वासु स्मृति नमुना आधारभूत विद्यालयका अभिभावक अचेल नियमित विद्यालय जाने गरेका छन्।  उनीहरूपठनपाठनका लागि नियमित विद्यालय गएका भने होइनन्। आफ्ना र अरू गाउँलेका छोराछोरीलाई खाजा पकाइदिन विद्यालय पुग्ने गरेका हुन्।

अभिभावक यसरी नै पालैपालो विद्यालय जान्छन् र विद्यार्थीलाई खाजा बनाएर खुवाउँछन्।  विद्यालयमा जाने, खाजा पकाउने र विद्यार्थीलाई खुवाउने उद्देश्य सहित अभिभावकले पालो लगाएका छन्।

आफ्नो पालो भएको दिन अभिभावक विद्यालयमा खाजा पकाएर खुवाउँछन्। क्याङसी र भूमे–२ गाबाङका गरी ७५ अभिभावकले यसरी विद्यालयमै खाजा पकाइदिने र खुवाउने पालो गरिरहेका हुन्।

अभिभावकले घरबाटै सामग्री लिएर जानु पर्दैन। विद्यालयमै उपलब्ध सामग्री पकाएर सघाए पुग्छ। यो विद्यालयमा मात्रै होइन, यस वडाका अन्य विद्यालयमा पनि यसरी नै अभिभावक खाजा पकाइदिन र खुवाउन विद्यालय जाने गरेका छन्।

‘केही समयदेखि विद्यालयमै खाजा पकाउने र खुवाउने अभियान सुरु गरेका छौँ’ अभिभावक रामलागी रोकाले भनिन्, ‘रुटिनअनुसार विद्यालयमै खाजा बनाउन र खुवाउन आउने गरेका हौँ।’

विद्यालयमा पुगेर खाजा पकाउन सघाउँदा विद्यार्थीका साथै विद्यालयका कर्मतचारी र अभिभावक पनि सन्तुष्ट भएको उनको भनाइ छ। पालो परेका दिन अरू सबै काम छाडेर पनि अभिभावक खाजा पकाएर खुवाउन विद्यालय आइरहेको उनले बताइन् ।

नेपाल सर्वाङ्गीण विकास समाजले विद्यालयलाई खाजा बनाउने सामग्रीको व्यवस्था गरिदिएको छ। विद्यालयमा खाजा पकाउन एक कर्मचारी छन्। अभिभावक तिनै कर्मचारीलाई सघाउन विद्यालय जाने गरेका हुन्।

कर्मचारी सपना रोकाले अभिभावकसँगै खाजा पकाउँदा र खुवाउँदा विद्यार्थीमा उत्साह थपिएको बताइन् । ‘म निश्चित सेवा सुविधा लिएर खाजा बनाइरहेकी छु’, उनले भनिन्,‘मलाई सघाउन अभिभावक दिनदिनै आउनुहुन्छ।’

बारअनुसार फरक परिकार

विद्यार्थीले बार अनुसारको खाजा खाने गरेका छन्। आइतबार चिकेन थेन्दुक, सोमबार सुजी, क्वाँटी र तरकारी, मंगलबार खिचडी खुवाउने गरिएको छ। बुधबार चिउरा, चना, तरकारी, बिहीबार चिकेन थुक्पा र शुक्रबार पाउरोटी, अण्डा तथा फलफूल खुवाउने तालिका बनाइएको छ।

कक्षा ४ की अमृता बुढाले विद्यालयमा खाजा बनाउन आमा, बुबा, भाउजूहरू आउँदा रमाइलो पनि हुने बताइन्। ‘विद्यालयले हामीलाई खाजा खुवाउन थालेदेखि नै आमाहरू खाजा बनाउन र खुवाउन आउनुहुन्छ’, उनले भनिन्।

विद्यालयमा सञ्चालन भएको दिवा खाजाले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयकी प्रधानाध्यापक मञ्जु बुढा रोकाले बताइन्। ‘अहिले पूरा समय विद्यालय नबस्ने समस्या हटेको छ’ उनले भनिन्,‘विद्यालय आउन नमान्नेहरू पनि खाजा बन्न थालेपछि विद्यालय आइरहेका छन्।’

Nabintech