पर्वत : पर्वतको जलजला गाउँपालिकाले संस्कृतिको रक्षा गर्दै बाजा बजाउनेहरूको जीवनस्तर उकास्न छ लाख मूल्यका पञ्चेबाजा वितरण गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीका अनुसार एक सेट पञ्चेबाजाको डेढ लाख रुपैयाँका दरले कुल छ लाख मूल्यका बाजाहरू गाउँपालिकाको वडा–९ बनौँ, वडा–८ नाग्लिवाङ, वडा–७ धाइरिङ र वडा–५ लेखफाँटको बाजा समूहलाई हस्तान्तरण गरिएको हो।
प्रशिक्षण लिएर व्यावसायिक रूपमा बाजा बजाउने समूहहरू बजारमा पाइने भए पनि परम्परागत रूपमा मौलिक लयमा बाजा बजाउँदै आएका समूहहरू विभिन्न समस्याका कारण विस्थापित हुँदै गएका कारण उनीहरूको कलालाई जोगाइराख्न तथा बाजा बजाएरै जीविका चलाउँदै आएकाहरूलाई यसमा टिकाई राख्नको लागि बाजा सहयोग गरिएको उनको भनाई छ।
‘अहिले सिकेर त अरू अरू पनि बजाउन सक्ने हुनुभएको छ। व्यावसायिक रूपमा वाद्यवादनमा लाग्नुभएको छ। तर वर्षौँदेखि पञ्चेबाजामा नै आश्रित भएर परिवार पाल्दै आएकाहरू विस्थापित हुँदै गएको देखिन्छ,’ प्रशासकीय अधिकृत क्षेत्रीले भने, ‘बाजाको मूल्य महँगो भएका कारण नयाँ बाजा खरिद गर्न नसकेर पनि उहाँहरूको भएको कला मरेको छ। त्यही कलाले जीवन धानेको थियो।’
आफूहरूले बजाउँदै आएका बाजाहरू पुरानो भएर राम्रोसँग नबज्ने अवस्थामा पुगेको बेलामा गाउँपालिकाबाट बाजा उपहार दिइँदा पञ्चेबाजा संरक्षणमा गाउँपालिका लागेको र त्यसमा आफूहरूले खुसी मिलेको बाजा पाएका बनौँका डम बहादुर पुर्जा पुनले बताए। गाउँमा रहेको पुरानो पुस्ताले बाजा कतिपय समूह बाजाकै भरमा पेट पाल्ने अवस्थामा रहेको भए पनि बनौँको हकमा त्यो नरहेको तर नयाँ पुस्ताले बाजा बजाउन बिर्सिन सक्ने चिन्तामा आफूहरू रहेको उनको भनाई छ।
‘हामी त बाजामा मात्रै भर परेका छैनौँ, तर अरू ठाउँमा त बाजा बजाएर परिवार पालेकाहरू छन्। हाम्रोमा रहेका बाजा पुराना भए, नयाँ किन्नको लागि महँगो छ। बाजा नै नभएर अबका युवाले बजाउन बिर्सिने हुन की भन्ने हाम्रो चिन्ता हो,’ उनले भने, ‘हाम्रो समूहकाले एउटा विवाहमा गएर बजाएको एक दिनको ३५ हजार रुपैयाँसम्म लिने गरेका छन्। यसले त हाम्रो जीविकालाई राम्रो बनाएको छ। हाम्रो संस्कृति पनि जोगिएको छ।’
केही वर्ष अगाडिसम्म मेला महोत्सव तथा विशेष चाडको अवसरमा जिल्लामा पञ्चेबाजा प्रतियोगिताहरू हुने पनि गरेका थिए। जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौँ बाजा समूहहरू प्रतिस्पर्धा गर्थे, उनीहरूको पहिचान बाहिर आउँथ्यो, आवश्यक परेको बेलामा माग हुन्थ्यो। मुख्य गरी वैवाहिक कार्यक्रमहरूमा पञ्चेबाजाको माग हुने गरेको छ। बजारमा हुने विवाह शान्त वातावरणमा हुने भए पनि गाउँघरमा हुने वैवाहिक कार्यक्रमहरूमा हुने झगडा, बाजाको तोडफोड, नयाँ बाजा खरिद गर्दा महँगो पर्ने भएकाले खरिदमा नै समस्या, गाउँको बसाँइसराइ दर बढ्दै जानु, लगायतका कारण पञ्चेबाजाका समूहहरू पहिलेकै सङ्ख्यामा भेटिँदैनन्।
वर्षमा केही पटक मात्र आउने बाजा बजाउने अवसरबाट आम्दानी भएको रकमले वर्षभरिको खर्च धान्न नसक्ने भए पनि बाजा बजाउन सक्रिय रहँदै आएको दलित समुदाय यसमा त्यति धेरै इच्छुक देखिँदैन। पछिल्लो पुस्ताले बाजा बजाएर भन्दा वैदेशिक रोजगारीमा गएर वा आन्तरिक रोजगारीबाट नै राम्रो आम्दानी गरेका कारण बाजा बजाउने समूहहरू बिस्तारै हराउँदै गइरहेका छन्।
पञ्चेबाजा नेपालको मौलिक बाजा रहेकोले यसको संरक्षण गर्नु अपरिहार्य रहेकाले गाउँपालिकाको बैठकमा यसबारेमा छलफल गरेर बाजा वितरणको निर्णय गरिएको बनौँका वडाध्यक्ष गौ बहादुर पुन बताउँछन्। प्रायः दलित समुदायले बजाउँदै आएको बाजा अहिले मगर लगायतका समुदायले पनि बजाउने गरेको बताउँदै उनले बेरोजगारी समस्याको हल गर्नका लागि जसले पनि बाजा बजाउने सिप सिक्नुपर्ने बताउँछन्।